पूर्वअध्यक्ष शेष घले एनआरएन नागरिकता लिन तयार

लण्डन।गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष शेष घलेले सरकारद्धारा जारी गर्न लागेको एनआरएन नागरिकता लिने बताएका छन्। घलेले अमेरिकास्थित न्युयोर्कमा आयोजित एक भेलालाई शुक्रवार सम्बोधन गर्दै गैरआवासीय नेपाली नागरिकता लिन आब्हान गरेका हुन्।

उनले एनआरएन नागरिकता लिए पछि एनआरएनए परिचयपत्र बोक्न नपर्ने बताए। घलेले यसअघि सरकारद्धारा जारी एनआरएनए ऐनमा विदेशमा रहेका नेपालीहरुलाई नेपाली सरह लगानी गर्न बाटो खोले पनि राजपत्रमा सो ऐन प्रकाशन नहुंदा नेपाली सरह लगानी गर्न नसकिएको बताए।

घलेले अन्य देशका पर्यटक भन्दा नेपालीहरु काठमाण्डौंमा जादा धेरै पैसा खर्च गर्न सकिएको चर्चा गर्दै संघको विश्व सम्मेलनमा काठमाण्डौंमै जम्मा भएर निर्वाचन गर्न आग्रह गरे। उनले संघका सबै साधारण सदस्यहरुलाई काठमाण्डौंमा गए पछि स्वतः मतदान गर्न पाउने व्यवस्था हुनु पर्ने माग गरे।

कार्यक्रममा गैरआवासीय नेपाली संघका पूर्वउपाध्यक्ष सोनाम लामाले एनआरएन नागरिकता ल्याउन घलेको महत्वपूर्ण भूमिका रहेको बताए।उनले राष्ट्रपतिद्धारा एनआरएनए नागरिकता विधेयक स्वीकृत गर्नु स्वागत योग्य कदम भएको बताए।उनले काठमाण्डौंमा गएर एकताको महाधिवेशन गर्न आग्रह गरे।