दिल्लीमा उठ्यो नक्साको बहस, प्रधानमन्त्रीले के के भने ?

काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले भारतको नव निर्मित संसद् भवनमा राखिएको‘अखण्ड भारत’को नक्साबारे चासो राखेका छन्। भ्रमणको पहिलो दिन बुधबार आफूलाई भेट्न आएका भारतीय सुरक्षा सल्लाहकार अजित डोभाल र विदेश सचिव विनयमोहन क्वात्रासँग प्रचण्डले नक्सामा नेपाली भूमि समेटिएकोबारे प्राथमिकता दिदैँ चासो राखेको प्रधानमन्त्रीको टोलीमा रहेका एक सदस्यले बताए।

नेपाली भूमि कपिलवस्तु र लुम्बिनीलगायतका क्षेत्र समेत समेटेर भारतले उक्त नक्सा आफ्नो संसद्मा राखेपछि नेपालमा त्यसको चौतर्फी विरोध भइरहेको छ । डोभाल र विदेश सचिव क्वात्रासँगको अनौपचारिक कुराकानीमा प्रधानमन्त्री प्रचण्डले नक्साबारे चासो व्यक्त गर्दा भारतीय पक्षले नक्सालाई राजनीतिक रूपमा नभई सांस्कृतिक रूपमा मात्रै बुझ्न आग्रह गरेका थिए। प्रधानमन्त्रीको टोलीमा रहेका एक सदस्यले भने,‘प्रधानमन्त्रीलाई स्वागत गर्न मौर्य होटलमा बुधबार आउनुभएका डोभाल र क्वात्रासँग प्रधानमन्त्रीले नक्साबारे अनौपचारिक कुराकानी गर्नुभएको हो।’

ती सदस्यका अनुसार जवाफमा भारतीय पक्षले नक्सालाई राजनीतिक रूपमा नबुझ्न आग्रह गरेका थिए।‘नक्सालाई राजनीतिक रूपमा नबुझिदिएर सांस्कृतिक रूपमा बुझ्नुहुनेछ भन्ने हामीलाई विश्वास छ’, भारतीय पक्षको भनाइलाई उद्धृत गर्दै श्रोतले भन्यो,‘नेपाल र भारतको संस्कृति मिल्दोजुल्दो नै छ।’

त्यसपछि प्रधानमन्त्री प्रचण्डले भारतले राखेको नक्सापछि नेपालको संसद्मा पनि ग्रेटर नेपालको नक्सा राख्ने चर्चा सुरु भएको बताएका थिए । ‘भारतले जसरी हामीले पनि ग्रेटर नेपालको नक्सा राखे के हुन्छ ?’ प्रधानमन्त्रीको प्रश्न थियो । त्यसपछि दुई पक्षबीच दुई देशबीचको सम्वबन्धका अन्य आयामबारे समेत कुराकानी भएको थियो ।

‘पहिलो कुरा यो भ्रमण सद्भाव भ्रमण हो। त्यसपछि एजेन्डामा कुराकानी हुने नै छ’,प्रधानमन्त्री निकट स्रोतले भन्यो,‘अहिलेसम्मको अवस्थामा भ्रमण सकारात्मकरुपमा अघि बढिरहेको छ।’ प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणको दोस्रो दिन समकक्षी प्रधानमन्त्री नरेन्द्र मोदीलगायत उच्चस्तरीय राजनीतिक भेटघाट र महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर गर्ने कार्यसूची रहेको छ ।