सन्दीप र प्रशिक्षकबिनै दक्षिण अफ्रिका गयो नेपाली टोली

काठमाडौं। नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली अभ्यास खेलका लागि दक्षिण अफ्रिका प्रस्थान गरेको छ। मुख्य प्रशिक्षक मोन्टी देशाइ र नेपाली टोलीका महत्वपूर्ण खेलाडी सन्दीप लामिछानेबिनै नेपाली टोली गएराति दक्षिण अफ्रिका गएको छ। बलात्कारको आरोप लागेका सन्दीप अदालतको अन्तिम फैसलाको प्रतिक्षामा छन्।

उनको अन्तिम फैसला नआएसम्म क्यानले विदेश भ्रमणमा नपठाउन जनाएको छ। क्यानका क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले सन्दीपको एक हप्तापछि पेशी भएको हुँनाले आउने जाने गाह्रो हुने भन्दै नपठाउने निर्णय गरेको बताए। पेशीमा सन्दीप आफै उपस्थित हुनुपर्नेछ।

मुख्य प्रशिक्षक मोन्टी अमेरिका गएका थिए। तर भिसा नलागेपछि त्यतैबाट भारत गएका छन्। त्यसैको कारण उनी पनि टोलीमा हुने छैनन्। पाठकका अनुसार मोन्टीको अमेरिकाबाट भिसा रिजेक्ट भएका कारण उनी टोलीमा सहभागी नहुने भएका हुन्। नेपालले दक्षिण अफ्रिकामा नेदरल्यान्ड्स र स्कटल्यान्डसँग चार अभ्यास खेल खेल्नेछ।

त्यसपछि नेपाली टोली त्यहाँबाट जेठ २८ गते जिम्बाबे जानेछ। आगामी असार ३ गतेदेखि जिम्बाब्वेमा दश राष्ट्र सहभागी विश्वकप छनोट खेलका लागि नेपाली टोली जिम्बाबे जाने भएको हो। नेपालले पहिलो खेल आयोजक जिम्बाबेसँग असार ३ मा हरारे स्पोट्स क्लबमा खेल्नेछ।

नेपालले पछिल्लो समय उत्कृष्ट क्रिकेट खेलिरहेको छ। विश्व क्रिकेट लिग टुका पछिल्ला १२ मध्ये ११ खेल जितेर नेपाल सिधै ग्लोबल छनोटमा स्थान बनाउन सफल भएको छ। यस्तै घरेलु मैदानमा भएको एसीसी मेन्स प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपका लागि पनि छनोट भएको हो।

नेपाल रहेको समूह–ए मा जिम्बाब्वे, वेस्ट इन्डिज, अमेरिका र नेदरल्यान्डस् छन्। समूह–बी मा आयरल्यान्ड, श्रीलङका, युएई, ओमान र स्कटल्यान्ड छन्। समूहका शीर्ष ३ टिम सुपर सिक्समा प्रवेश गर्नेछन्। छनोट खेलबाट दुई टिमले यसै वर्ष भारतमा हुने विश्वकप यात्रा तय गर्नेछन्।