पानी पर्ने सम्भावना छैन, गर्मी अझै बढ्ने

काठमाण्डौ। देशका धेरै ठाउँमा आज पनि बिहानै घाम चर्किएको छ। एक/दुई दिन अझै घाम चर्किने अनुमान रहेको मौसमविद्ले बताएका छन्।

मौसमविद् रोजर लामिछानेका अनुसार तत्काल पानी पर्ने सम्भावना छैन। प्रि मनसुुनको समय भएकाले पहाडी क्षेत्रका केही ठाउँमा बेलुकीपख मौसम आंशिक बदली हुने अनुमान भए पनि पानी नपर्ने उहाँले बताउनुभयो।

मौसमविद् लामिछानेका अनुसार तत्काल पानी पार्ने प्रणाली सक्रिय छैन। यसले गर्दा तापक्रम बढ्ने अनुमान छ।पानी पर्न रोकिएसँगै काठमाण्डौसहित धेरै ठाउँको अधिकतम तापक्रम बढ्न थालेको छ। हिजो काठमाण्डौको अधिकतम तापक्रम २९ दशमलव ८ डिग्री सेल्सियस पुगेको थियो।

आज पनि यही हाराहारीमा तापक्रम पुग्ने अनुमान छ। यस्तै,सिमराको अधिकतम तापक्रम ३८ दशमलव ४,जनकपुरको ३८,नेपालगञ्जको ३७ दशमलव ५ डिग्री सेल्सियस पुगेको छ ।