एजेन्सी। जापानका प्रधानमन्त्री फुमियो किशिदाले आफ्ना छोरा शोतारो किशिदालाई निजी सचिवबाट बर्खास्त गर्नुभएको छ।प्रधानमन्त्रीको सरकारी निवासमा ‘अनुपयुक्त व्यवहार’गरेका कारण आफूले छोरालाई निजी सचिवबाट हटाउन परेको प्रधानमन्त्री किशिदाले बताउनुभएको छ।
शोतारो किशिदाले गएको वर्ष प्रधानमन्त्रीको सरकारी निवासमा आफन्तलाई निम्ता गरी भोज गरेको तस्बिरसहित समाचार सार्वजनिक भएको थियो।अघिल्लो हप्ता समाचार सार्वजनिक भएपछि प्रधानमन्त्रीले छोरालाई पदबाट हटाउने घोषणा गर्नुभएको हो ।
विपक्षी दलले निरन्तर आलोचना गरेपछि प्रधानमन्त्रीले छोरालाई पदमुक्त गर्ने निर्णय गर्नुभएको समाचार संस्था एएफपीले जनाएको छ ।