काठमाडौं। नेपाली समुदायको सम्मानमा न्युयोर्कको क्वीन्समा ब्रोडवेदेखि उडसाइडसम्मको ७५ स्ट्रीटको नाम तेन्जिङ नोर्गे शेर्पा वे नामाकरण गरिएको छ । न्युयोर्क सिटी स्थानीय सरकारको सिटी काउन्सिलबाट बिल पारित गरेर तेन्जिङ नोर्गे शेर्पा वे नामाकरण गरिएको हो ।
आज आयोजित एक विशेष समारोहमा ७५ स्ट्रीट र ४१ एभिन्युमा तेन्जिङ नोर्गे शेर्पा वे स्ट्रीट संकेत अनावरण गरिएको हो । न्युयोर्क सिटी काउन्सिलमा डिस्ट्रिक्ट २५ बाट प्रतिनिधित्व गर्ने काउन्सिलमेम्बर शेखर कृश्ननको नेतृत्वमा गरिएको कार्यक्रममा न्युयोर्क राज्यका सांसदहरु लगायत नेपाली समुदायको बाक्लो उपस्थीति रहेको थियो ।
नोर्गे न्यूजील्याण्डका एडमन्ड हिलारीसँगै सगरमाथाको शिखरमा सन् १९५३ मा पहिलोपटक पुगेको ७० औं बर्षगाँठका अवशरमा कार्यक्रम गरिएको हो । सन् १९१४ मा जन्मिएका तेन्जिङले ३९ वर्षको उमेरमा सगरमाथाको आरोहण गरेका हुन्। उनको जन्मदिन अज्ञात रहेपनि सन् १९५३ मे २९ मा सगरमाथाको सफल आरोहण पछि उनले त्यस दिन आफ्नो जन्मदिन मनाउने निर्णय गरेका थिए।
नेपाल र अमेरिकाको राष्ट्रगानबाट सुरु गरिएको कार्यक्रममा हिमाल आरोहणका क्रममा ज्यान गुमाउनेहरुको सम्झनामा एक मिनेट मौनधारण समेत गरिएको थियो । कार्यक्रममा काउन्सिलमेम्बर शेखर कृश्ननले न्युयोर्कमा रहेको नेपाली समुदायको प्रशसा गर्दै नेपाली समुदायको सम्मानमा तेन्जिङ नोर्गे शेर्पा वे नामाकरण कार्यक्रम गर्न पाउँदा गौरवको अनुभव भएको बताए ।
एडमण्ड हिलारीसँगै सगरमाथा आरोहण गरेपनि तेन्जिङ नोर्गेले पूर्ण पहिचान पाउन लामो समय लागेको स्मरण गर्दै शेखर कृश्ननले पहिचानका लागि धेरै बाँकी रहेको पूरा गर्ने एक भागका रुपमा स्ट्रीटको नामाकरण गरिएको बताए । नेपालीहरुले गर्व गर्ने व्यक्तिको नाममा स्ट्रीटको नामाकरणले नेपाली समुदायको जीवन्तता, बलियोपन, शशक्ततालाई झल्काउने उनले बताए । उनले न्युयोर्क सिटीे राम्रो बनाउनमा नेपाली समुदायको योगदानको प्रशंसा समेत गरे ।
डिस्ट्रिक्ट २५ बाट प्रतिनिधित्व गर्ने तत्कालिन काउन्सिलमेम्बर डानियल ड्रमले तेन्जिङ नोर्गे शेर्पा वे नामाकरणका लागि सिटी काउन्सिलबाट प्रस्ताव पारित गराएका थिए। कार्यक्रममा डानियल ड्रम उपस्थीत नभएपनि उनले तेन्जिङ नोर्गे शेर्पा वे नामाकरणका लागि गरेको योगदानको शेखर कृश्ननले प्रशंसा गरेका थिए।
कार्यक्रममा तेन्जिङ नोर्गे शेर्पाका दुई छोराहरु नोर्बु तेन्जिङ नोर्गे र धामे तेन्जिङ नोर्गे पनि उपस्थीत भएका थिए । तेन्जिङ नोर्गे शेर्पाका छोरा नोर्बु तेन्जिङ नोर्गेले यो अवशरमा उपस्थीत हुन पाउँदा निकै खुशी लागेको बताए ।
आफ्ना बुबाका नाममा बाटोको नाम राख्नु एकदमै सम्मानजनक काम भएको बताउदै यसबाट आफ्नो बुबाले जस्तै सपना देख्नहरुलाई प्रोत्साहित गर्ने उनले बताए । बाटोको नामले सफलता सहज नभएको स्मरण गराउने तथा कडा मिहिनेत र लामो प्रयासबाट सफलता मिल्ने कुरा सम्झाउने उनले बताए ।
कार्यक्रममा न्युयोर्क राज्यको सिनेटमा डेपुटी मेजोरिटी लिडर माइकल जियानारिसले आफ्ना पूर्वज पनि ग्रिसका हिमालयन क्षेत्रमा जन्मे हुर्केको स्मरण गर्दै आफू पनि नेपाल जान र हिमालहरु हेर्न चाहेको बताए । हिमालहरु देख्दा आफूलाई घरजस्तो अनुभव हुने उनले बताए । उनले नेपाली समुदायको प्रतिनिधित्व गर्न पाउँदा एकदमै गर्व लागेको उल्लेख गरे ।
न्युयोर्क राज्य संसदमा प्रतिनिधित्व गर्ने एसेम्बलीमेम्बर स्टीभन रागाले आफू फिलिपिनो समुदायको पहिलो निर्वाचित एसेम्बलीमेम्बर भएतापनि फिलिपिनो समुदायको भन्दा धेरै नेपाली समुदायका कार्यक्रममा सहभागी हुने गरेको बताए । नेपाली समुदाय बढ्दो र उर्जाशिल समुदाय रहेको उल्लेख गर्दै उनले नेपाली समुदायले सम्पदादेखि इतिहासम्ममा योगदान दिएको बताए । उनले तेन्जिङ नोर्गे शेर्पा वे नामाकरणको ऐतिहासिक दिनका लागि नेपाली समुदायलाई बधाई समेत दिए ।
कार्यक्रममा कार्यवाहक महावाणिज्यदूत बिष्णुप्रसाद गौतमले यो दिन ऐतिहासिक दिन भएको उल्लेख गर्दै यो प्रकृयाका लागि नेतृत्व गरेकोमा नेपाल सरकार, महावणिज्यदूतावासका तर्फबाट न्युयोर्क सिटी काउन्सिल र काउन्सिल मेम्बर शेखर कृश्ननलाई धन्यवाद दिए । तेन्जिङ नोर्गे शेर्पा वे नामाकरण हुनु अमेरिकामा रहेको नेपाली समुदाय र नेपालका लागि गर्वको कुरा रहेको उनले बताए ।
त्यस्तै बाग्मती प्रदेशकी सांसद याङकिला शेर्पाले पनि ऐतिहासिक पर्वतारोही तेन्जिङ नोर्गे शेर्पाको सम्मानमा गरेको कार्यक्रमका न्युयोर्क सिटीप्रति कृतज्ञता व्यक्त गरिन् । कार्यक्रममा युएस नेपाल क्लाइम्बर्स एसोसिएसनका अध्यक्ष पासाङ शेर्पा, शेर्पा किदुगका अध्यक्ष तेम्बा शेर्पा र शेर्पा संघ अमेरिकाका अध्यक्ष पासाङ दोर्जे शेर्पाले तेन्जिङ नोर्गे शेर्पा वे नामाकरण कार्यक्रम सफल पार्न योगदान दिने सबैलाई विशेष धन्यवाद दिए ।
ब्रोडवेदेखि उडसाइडसम्मको ७५ स्ट्रीटलाई तेन्जिङ नोर्गे शेर्पा नामाकरणका लागि लामोसमयदेखि प्रयास हुदै आएको थियो । उर्गेन शेर्पाको नेतृत्वमा शेर्पा किदुग रहेको बेलामा सन् २०१७ को मे महिनामा ७५ स्ट्रीटको नाम नेपाल झल्किनेगरी राख्ने प्रस्ताव २५ औं डिस्ट्रिक्टबाट तत्कालिन सिटी काउन्सिल सदस्य डानियल ड्रम समक्ष लगिएको थियो । त्यतीबेला उक्त स्ट्रीटको नाम नेपाल स्ट्रीट, सगरमाथा स्ट्रीट, गौतमबुद्ध स्ट्रीट, लुम्बिनी स्ट्रीट जस्ता नाममध्ये कुनै एक राख्नका लागि प्रस्ताव गरिएको थियो ।
३० एभिन्युबाट उडसाइडसम्मको पूरै स्ट्रीटलाई नेपालीपन झल्किनेगरी नामाकरण गर्ने प्रस्ताव गरिएको थियो । तर त्यसका लागि २२ औं डिस्ट्रिक्टका तत्कालिन सिटी काउन्सिल सदस्य कोस्टा कॉन्स्टेंटिनाइड्सले समेत पहल गर्नुपर्ने र यो क्षेत्र २ वटा डिस्ट्रिक्टभित्र पर्ने भएपछि प्रकृया लम्बिन पुगेको थियो ।त्यसपछि शेर्पा किदुगका तर्फबाट २५ डिस्ट्रिक्टका सिटी काउन्सिल सदस्य ड्रम समक्ष लगिएको प्रस्ताव यत्तिकै सेलाएको थियो ।
२५ औं डिस्ट्रिक्टबाट तत्कालिन सिटी काउन्सिल सदस्य डानियल ड्रम, जसले जसले तेन्जिङ नोर्गे शेर्पा वे नामाकरणका सिटी काउन्सिलमा प्रस्ताव लगेर पारित गराएका थिए । सन् २०२१ मा सिटी काउन्सिलमा गएको केही समयपछि उक्त प्रस्ताव पारित भयो । झण्डै ६ बर्षको प्रयासपछि न्युयोर्कको नेपाली समुदायको विशेष सम्मानमा ७५ स्ट्रीटको नाम तेन्जिंग नोर्गे शेर्पा वे नामाकरण गरिएको हो ।