काठमाण्डौ।काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहले विपन्न,असहाय,बेवारिसे बिरामीका लागि कुल शय्याको दश प्रतिशत शय्या छुट्याइ निःशुल्क उपचार नगर्ने अस्पताललाई कारबाही गर्ने बताउनु भएको छ।
बिहान सामाजिक सञ्जालमा स्टाटस लेख्दै उहाँले अस्पतालमा १० प्रतिशत शय्या छुट्याएर गरिब तथा विपन्न बिरामीलाई उपचार दिएको विवरण हरेक महिनाको १० गते भित्र बुझाइसक्न पनि निर्देशन दिनु भएको हो।हरेक महिनाको १० गतेसम्म यस्तो विवरण नबुझाउने अस्पताललाई नियमअनुसार कारबाही हुने पनि उहाँले बताउनु भएको छ।
यस्तै, स्वास्थ्य संस्थाहरूमा कार्यरत स्वास्थ्यकर्मी र अन्य कर्मचारीलाई प्रचलित कानुनले तोकेको न्यूनतम पारिश्रमिक उपलब्ध गराउन,स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन गर्न,अस्पताल भित्र रहेका क्यान्टिनमा खाद्य गुणस्तर कायम गर्न, अनावश्यक प्रयोगशाला परीक्षणको लागि सिफारिस नगर्न पनि उहाँको निर्देशन छ ।
उहाँले स्वास्थ्य सेवालाई सबै वर्ग,समूहको पहुँचयोग्य बनाउन पनि आग्रह गर्नु भएको छ।मेयर शाहले स्वास्थ्य संस्था सञ्चालन मापदण्ड २०७७,परिच्छेद २४ दफा ७०(घ)मा अस्पतालमा उपचारका लागि आउने विपन्न,असहाय, बेवारिसे बिरामीका लागि कुल शय्याको दश प्रतिशत शय्या छुट्याइ निःशुल्क उपचार गर्नुपर्ने अनिवार्य व्यवस्था रहेको भन्दै ध्यानाकर्षणसमेत गराउनु भएको छ।
यसअघि गएको २ गते काठमाण्डौ महानगरपालिकाले उपचारका लागि पुग्ने विपन्न,असहाय,बेवारिसे बिरामीका लागि कुल शय्याको दश प्रतिशत शय्या छुट्याइ निःशुल्क उपचार दिन महानगर भित्रका सबै अस्पताल तथा स्वास्थ्य संस्थालाई निर्देशन दिएको थियाे।