पूर्वी रुकुममा गयो भुकम्प

काठमाण्डौ।पूर्वी रुकुमको हुकाम केन्द्रविन्दु भएर भूकम्प गएको छ ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार पूर्वी रुकुमको हुकामगाउँ वरपर केन्द्रविन्दु भएर आज बिहान २ बजेर ५९ मिनेटमा ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको हो।

नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको उच्च जोखिम क्षेत्रका रूपमा लिने गरिन्छ।यसअघि वैशाख २८ गते बाजुराको बिछ्या केन्द्रविन्दु भएर ४ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको थियो।

वैशाख महिनामा मात्रै बाजुरा केन्द्रविन्दु भएर ६ पटक भूकम्प गएको तथ्याङ्क छ। नेपालको पश्चिमी क्षेत्रमा पाँच सय वर्षदेखि ठूलो भूकम्प नगएकाले उच्च जोखिम रहेको विज्ञले बताउँदै आएका छन्।

भूकम्पको पूर्वानुमान गर्न नसकिने तर पश्चिमी क्षेत्रमा जमिन मुनि शक्ति सञ्चय भइरहेकाले जोखिम धेरै रहेको भूकम्पविद् मुकुन्द भट्टराईले बताउनुभयो।

जोखिम उच्च नै रहेकाले त्यस क्षेत्रका स्थानीय बासिन्दालाई अहिलेदेखि नै सावधानी अपनाउन र पूर्वतयारी गर्न पनि उहाँको सुझाव छ।