काठमाडौँ। टिकापुर नरसंहारका प्रतिवादी रेशमलाल चौधरीको जन्मकैदको फैसला सर्वोच्च अदालतले समेत सदर गरेको छ।मंगलबार न्यायाधीशद्वय डा.आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले जन्मकैद गर्ने उच्च अदालत दिपायलको फैसला सदर गरेको हो।
सर्वोच्च अदालतको फैसलामा जन्मकैदको सजाय सुनाइएका लक्ष्मण थारु चौधरीको हकमा भने जन्मकैदको फैसला उल्टाएर ज्यान मार्ने उद्योगमा ३ वर्षको मात्रै कैद सजाय सुनाइएको छ।त्यसैगरी प्रतिवादीमध्येका सिताराम चौधरी र गंगाराम चौधरीलाई भने सर्वोच्च अदालतले सफाई दिएको छ।
उनीहरुलाई उच्च अदालत दिपायलले जन्मकैदको फैसला सुनाएको थियो। मंगलबार सर्वोच्च अदालतबाट जारी गरिएको संक्षिप्त आदेशमा तीनजनाको हकमा केही उल्टी भएपनि अन्य प्रतिवादीहरुको हकमा उच्च अदालत दिपायलकै फैसला सदर गरिएको छ ।
सर्वोच्च अदालतको फैसलासँगै तत्कालीन कानुनको आधारमा प्रतिवादी रेशमलाल चौधरीलाई २० वर्ष कैद सजाय हुनेछ। चौधरी २०७४ फागुन १४ गतेबाट जेलमा बसेका उनी सामान्य अवस्थामा जेलमुक्त हुन अझै १४ वर्ष जेल सजाय काट्नुपर्ने हुन्छ। चौधरी २०९४ साल फागुन १३ गतेसम्म जेलमै बस्नुपर्ने भएको छ ।
प्रतिवादीमध्येका लक्ष्मण थारु चौधरी हालसम्म पनि फरार भएको कारण अब उनले तीन वर्ष जेलमा बसेपछि जेलमुक्त हुन पाउनेछन् । यसअघि उनको हकमा कैलाली जिल्ला अदालतले तीन वर्षको जेल सजाय गरेको थियो भने उच्च अदालत दिपायलले जन्मकैदको फैसला सुनाएको थियो ।
कैलालीको टिकापुरमा २०७२ सालमा भएको नरसंहारमा प्रतिवादी रेशमलाल चौधरी, लक्ष्मण थारु लगायतका ६ जनालाई जन्मकैदको फैसला भएको थियो । कैलाली जिल्ला अदालत र उच्च अदालत दिपायलले गरेको जन्मकैदको फैसलामा चित्त नबुझाएर उनीहरु सर्वोच्च अदालत पुगेका थिए । सर्वोच्चले लक्ष्मण थारुको सजाय घटाई तीन वर्ष कायम गर्ने र सीताराम चौधरी र गंगाराम चौधरीको हकमा सफाई दिने फैसला गर्नुबाहेक अन्य प्रतिवादीको हकमा उच्च अदालतकै फैसला सदर गरेको छ ।
कैलाली जिल्ला अदालतमा दायर रिटमा ५८ जनालाई दोषी बनाई मुद्दा दायर गरिएको थियो। ५८ जनामध्ये ३१ इञ्जिनियर धनीराम चौधरी लगायत ३१ जना प्रतिवादी फरार रहेका थिए भने २७ जना प्रतिवादीलाई थुनामा राखी मुद्दाको पुर्पक्ष गरिएको थियो।
कैलाली जिल्ला अदालतले फैसला गर्ने क्रममा रेशमलाल चौधरी, हरिनारायण चौधरी, प्रदीप चौधरी, वीर बहादुर चौधरी, सीताराम चौधरी र गंगाराम चौधरीलाई जन्मकैदको फैसला सुनाएको थियो। लक्ष्मण थारुको हकमा तीन वर्षको कैद सजाय सुनाएको कैलाली जिल्ला अदालतको फैसलालाई समेत उल्टाएर उनलाई पनि जन्मकैदकै फैसला हुने उच्च अदालत दिपायलले फैसला गरेको थियो।
त्यसैगरी प्रतिवादीहरु संगम भन्ने सन्तोष चौधरी,दिल बहादुर चौधरी र जित बहादुर चौधरीलाई जनही तीन वर्ष कैद सजाय गर्ने जिल्ला अदालतको फैसला उल्टाएर मुलुकी ऐन ज्यान सम्बन्धी महल अनुसार जनही दश वर्ष कैद सजाय हुने ठहर गरेको थियो। त्यसैगरी उनलीहरुलाई ज्यान मार्ने उद्योगमा थप ५र५ वर्षको कैद हुने फैसला गरिएको थियो।
त्यसैगरी कैलाली जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएका प्रतिवादीहरु सुन्दरलाल कठरिया, बृजमोहन चौधरी, राजेश चौधरी र राजकुमार कठरियाको हकमा उच्च अदालत दिपायलले केही उल्टी गरी जनही ५ वर्षको कैद सजाय हुने फैसला सुनाएको थियो।
त्यस्तै कैलाली जिल्ला अदालतले जनही ३ वर्ष कैदको फैसला सुनाएका प्रतिवादीहरु रामप्रसाद चौधरी, सन्तराम चौधरी, किसनलाल चौधरी र प्रेम बहादुर चौधरीको हकमा उच्च अदालतले जनही ५ वर्ष कैद गर्ने फैसला सुनाएको थियो।कैलाली जिल्ला अदालतले ३ वर्ष कैद सजाय सुनाएका प्रतिवादी विश्राम चौधरीका हकमा भने उच्च अदालत दिपायलले उल्टी गरी सफाई दिएको थियो ।
सर्वोच्चले दुईजना प्रतिवादीलाई अभियोग दाबीबाट सफाई दिने र लक्ष्मण थारुको हकमा जन्मकैदको सजाय हुने उच्च अदालत दिपायलको फैसला केही उल्टी गरी तीन वर्षको जेल सजाय कायम गर्नेबाहेक अन्यको हकमा उच्च अदालतकै फैसला सदर गरेको छ।
मुल्तवीमा रहेका अन्य मुद्दाहरुको हकमा भने सुरु अदालतबाट सुनुवाइ र कारबाही हुनेछ । टिकापुरमा भएको थरुहट आन्दोलनको क्रममा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ७ प्रहरी र एक बालकको मृत्यु भएको थियो ।