कांग्रेसले भ्रष्टाचारीको भारी बोक्दैन : गगन थापा

काठमाडौं।सत्तारूढ दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पार्टी केन्द्रीय सदस्य तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणको पक्राउमा पार्टी संलग्न नहुने बताएका छन्।

सामाजिक सञ्जालमार्फत उनले पार्टीमा क्रियाशील कुनै व्यक्ति भ्रष्टाचार वा अपराधमा संलग्न हुन सक्ने भन्दै पार्टीले त्यसको भारी बोक्न नसक्ने र बोक्न नहुने बताएका हुन्। उनले भ्रष्टचारमा संलग्नलाई पार्टीले निलम्बन गर्नुपर्ने पनि बताएका छन्।”पार्टीको तर्फबाट हामीले भन्ने यतिमात्र हो–अनुसन्धान निष्पक्ष हुनुपर्छ,निर्दोष पर्नुहुन्न,दोषीले सजाय पाउनुपर्छ,” उनले भनेका छन् ।

दोषी र निर्दोष छुट्याउने कानुनी प्रक्रियाबाट भएकाले गम्भीर आरोप लागिसकेपछि मुद्दाको अन्तिम किनारा नलागेसम्म जुनसुकै तहको जिम्मेवारीमा रहेको व्यक्ति स्वत: पार्टीको जिम्मेवारीबाट अलग रहनुपर्ने अन्यथा पार्टीले निलम्बन गर्नुपर्ने उनको भनाइ छ।

उनले लेखेका छन्,”पार्टी सभापति, पदाधिकारीसँगको बैठक, सार्वजनिक मञ्चहरूमा मैले यो विचार राखेको छु। पार्टीभित्र, बाहिर,औपचारिक,अनौपचारिक बैठक सबैमा हिजो पनि,आज पनि र भोलि पनि मेरो धारणा यही नै रहने छ। पार्टीका कतिपय साथीहरूबाट नेपाली कांग्रेसको यस्तो परम्परा नभएको भन्ने विचार पनि आएका छन्। यसमा पनि म प्रष्ट छु– गलत परम्परा तोडिनुपर्छ। परम्पराका नाममा घातक प्रवृत्तिलाई पार्टीले बोक्न सक्दैन, बोक्नु हुँदैन। मेरो यो विचारलाई पार्टीको विचार बनाउन म निरन्तर लागेको छु,लागिरहनेछु।”