नेपालको आर्थिक विकासमा निरन्तर सहयोग गर्ने बेलायतको प्रतिबद्धता

काठमाडौं। बेलायतले नेपालको आर्थिक विकासमा निरन्तर सहयोग गर्ने वचनबद्धता जनाएको छ। लन्डनमा बिहीबार बसेको नेपाल–बेलायत परराष्ट्र सचिवस्तरीय द्विपक्षीय परामर्श संयन्त्र बिसिएमको बैठकमा बेलायतले नेपालमा लगानीका लागि निजी क्षेत्रलाई प्रोत्साहित गर्ने तथा भूतपूर्व गोर्खा सैनिकको मुद्दा वार्ताबाट समाधान गर्ने जनाएको छ।

नेपाली दूतावासका अनुसार बैठकमा दुवै पक्षले नेपाल–बेलायत सम्बन्धको समग्र अवस्थाको समीक्षा गरेका छन्।‘ब्रिटिस गोर्खा मुद्दा, जलवायु परिवर्तन र दिगो विकासका साथै बहुपक्षीय मञ्चहरूमा पारस्परिक हितका एजेन्डामा मिलेर काम गर्ने विषयमा छलफल भएको छ। भूतपूर्व गोरखाका विषयमा भइरहेको वार्ताको समीक्षा भएको छ। उनीहरूको विषय सम्बोधनका लागि छलफल जारी राख्ने सहमति भएको छ,’ नेपाली दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रसचिव भरतराज पौड्याल र बेलायतको विदेश, कमनवेल्थ तथा विकाससम्बन्धी विभागका स्थायी उपसचिव सर फिलिप बार्टनले बेलायती प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए। दुई देशबीच पारस्परिक हितका विभिन्न क्षेत्रमा संलग्नता बढाउने विषयमा छलफल भएको लन्डनस्थित नेपाली दूतावासले जनाएको छ।

बैठकमा दुई देशबीच विकास सहयोग र प्राथमिकता, व्यापार, लगानी र पर्यटन, शिक्षा र मानव संसाधन विकास, कन्सुलर र जनस्तरको द्विपक्षीय सम्बन्धका प्रमुख पक्षहरूमा भएको प्रगतिको समीक्षा भएको थियो। व्यापार, लगानी, ऊर्जा र पर्यटनजस्ता उत्पादनशील क्षेत्रमा सहयोग र संलग्नतालाई थप सुदृढ बनाउन दुवै पक्ष सहमत भएका छन्।

बेलायतले नेपालको स्वच्छ ऊर्जामा लगानी बढाउन सहयोग गर्ने वचन दिएको छ। यसले जलवायु परिवर्तनको एजेन्डालाई सम्बोधन गर्न पनि सहयोग पुग्नेमा दुवै पक्ष सहमत भएका छन् । दुवै पक्षले नवीकरणीय ऊर्जा र सूचना तथा सञ्चार क्षेत्रलगायत विभिन्न क्षेत्रमा ब्रिटिस इन्टरनेसनल इन्भेस्टमेन्टजस्ता लगानीका सञ्जालहरूको उपयोगका विषयमा पनि छलफल गरेका छन् ।