क्यानडा। गैरआवासीय नेपाली संघ अमेरिकाज क्षेत्रीय सम्मेलन क्यानडाको टारोन्टोमा हुने भएको छ। गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद, गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, अमेरिका र ग्लोबल गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद क्यानाडाको सयुक्त आयोजनामा आगामी मे २७ र २८ मा क्षेत्रीय सम्मेलन हुन लागेको हो। सोमबार भर्चुअल पत्रकार सम्मेलनमार्फत् अमेरिकाज क्षेत्रीय सम्मेलनको जानकारी दिइएको हो ।
सम्मेलनका क्षेत्रीय संयोजक कृष्ण पोखरेलले सम्मेलनमा नेपालको आर्थिक विकास र सामाजिक समृृद्विमा गैर आवासीय नेपाली संघको भुमिका भन्ने मूल विषयवस्तु अन्तर्गत गैरआवासीय नेपालीहरुको हित र सरोकारहरुसँग सम्बन्धित महत्वपूर्ण सवालहरुमा छलफल हुने जानकारी दिए।
‘सम्मेलनमा नेपालको उर्जा संकट सामाधानका लागि ग्रीन हाइड्रोजन उत्पादन तथा खपतः लगानीका अवसर र संभावनाहरु, नेपालको आर्थिक तथा सामाजिक विकासमा गैर आवासीय नेपालीहरुमा रहेको ज्ञान, सीप, पुजी तथा प्रविधिको हस्तान्तरण, गैर आवासीय नेपालीहरुको लागि दोहारो नागरीकता कानूनको आवश्यकता र अबिलम्ब कार्यान्वयनका लागि नेपाल सरकारको दायित्व, गैर आवासीय नेपाली संघको संगठनात्मक विकास र आगामी रणनीती तथा समतामूलक र सामाजिक न्यायपुर्ण समाजका लागि गैर आवासीय नेपालीहरुले खेल्नु पर्ने भुमिका सवालहरुमा छलफल र बहस केन्द्रित हुनेछ,’ पत्रकार सम्मेलनपछि जारी विज्ञप्तिमा उल्लेख छ।
संयोजक पोखरेलले एनआरएनएबीच वृहत्तर एकताका लागि सम्मेलन महत्वपूर्ण हुने विश्वास व्यक्त गरे। त्यस्तै एनआरएनए क्यानडा अध्यक्ष अञ्जनी भट्टराईले नेपालको समृद्धिमा विदेशमा रहेका नेपालीको योगदानलाई प्रभावकारी बनाउने विषयमा सम्मेलनमा छलफल हुने बताए।
त्यस्तै अमेरिका अध्यक्ष डा.सूर्य लम्सालले सम्मेलनलाई उपलब्धिमूलक बनाउने गरी तयारी भइरहेको जनाए। साथै सम्मेलनले विश्वभर स्थापित र कार्यरत गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदहरुलाई प्रभावकारीरुपमा कार्य गर्नका लागि मार्गदर्शन तथा कार्यदिशा प्रदान गर्ने विश्वास लिएको छ।