काठमाडौं। मधेस प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिवलाई निर्माण व्यवसायीले कार्यालयमै थुनेका छन्। योजनाहरुको काम सकेको डेढ वर्ष हुँदासम्म पनि भुक्तानि नदिने मन्त्रालयका सचिव कृष्णकुमार मिश्रलाई निर्माण व्यवसायीहरुले कार्यलयमै थुनेका हुन्।
व्यवसायीहरुले प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयका विभिन्न योजनाको काम सम्पन्न गरे पनि भुक्तानी नपाएपछी मिश्रलाई कार्यलयमै थुनेर ताला लगाएपछी सचिवको कार्यकक्ष अगाडि फोहोरसमेत थुपारेर प्रदर्शन गरेका छन्।
गएको आर्थिक वर्षहरूमा प्रदेश सरकारको दर्जनौँ विकास निर्माणको काम गरे पनि साढे दुई वर्ष बितिसक्दा पनि भुक्तानी नपाएकोले बाध्य भएर सचिवलाई कार्यकक्षमै थुनेको उनिहरुले बताएका छन्। बैंकको ब्याज तिर्नसमेत समस्या भइरहे पनि भुक्तानीका लागि प्रदेश सरकारले चासो नदेखाएको उनिहरुको गुनासो छ।
विभिन्न ३८ वटा योजनाको ६० करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको निर्माण व्यवसायीले बताएका छन्। मधेस प्रदेश सरकारका अन्य मन्त्रालयहरूको पनि विभिन्न उपभोक्ता समितिको झन्डै एक अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको उनीहरूको भनाइ छ।