अन्ततः खुल्यो एनओसी, आफ्नै निर्णयबाट पछि हट्यो सरकार

काठमाडौं। अन्ततः सरकारले कडाई गरेको एनओसि फेरी खोलेको छ ।चौतर्फी विरोध र दबाबपछि विदेश अध्ययन गर्न जान कडाई गर्ने निर्णयबाट सरकार पछि हटेको हो। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वैदेशिक अध्ययन स्वीकृति सम्बन्धी निर्देशिका, २०७९ जारी गर्दै विदेश अध्ययन गर्न जान कडाई गरेको थियो ।

निर्देशिका जारी गर्दै स्नातक वा सोभन्दा माथिल्लो तहका लागि मात्र विदेश पढ्न जान पाउने व्यवस्था गरेको थियो। अब कक्षा वा सो सरहभन्दा माथिको शिक्षा पढ्नको लागि विदेश जान पाउने भएका छन्। गत फागुन १८ गते निर्देशिका पारित गरेको शिक्षा मन्त्रालयले चैत १९ गतेदेखि कार्यान्वयनमा ल्याएको थियो। तर, सरकारले निर्देशिका सार्वजनिक गरेको थिएन ।

मन्त्रालयले यतिबेला यसअघिको व्यवस्थालाई संशोधन गर्दै यस्तो निर्णय सार्वजनिक गरेको हो ।यसअघि कक्षा १२ पछिको डिप्लोमा, एड्भान्स डिप्लोमा (स्नातक गर्नुभन्दा अघि, ब्रिजकोर्ष) गर्न जानेलाई एनओसी नदिने निर्देशिका उल्लेख थियो। तर, सरकारले उक्त निर्णय फिर्ता लिएको हो।

विभिन्न देशहरुका कलेजहरुले सोझै स्नातक भर्ना हुन नदिने, डिप्लोमा, एडभान्स डिप्लोमा, एक वर्षे कोर्षहरु गराउने भएकोले कक्षा १२ पछिका कार्यक्रमको लागि निरन्तरता दिने पक्षमा सरकार पुगेको हो।

निर्देशिका संशोधनसँगै विद्यार्थीहरुले डिप्लोमा तह वा सो सरहको अध्ययन तथा भाषा अध्ययनका लागि एनओसी लिन पाउने भएका छन्। सरकारले संशोधनसहित निर्देशिका जारी गरेपनि व्यवसायीहरुले भने विरोधलाई निरन्तरता दिने बताएका छन् ।