वर्षमान पुनकी आमामाथि प्रहरीका असईद्वारा गोली प्रहार

काठमाडौँ। माओवादी केन्द्रका नेता वर्षमान पुनकी आमा तिर्थमाली पुन मगरलाई प्रहरी सहायक हवल्दारले आफ्नै पेस्तोलबाट गोली प्रहार गरेको थाहा भएको छ। प्रहरी वृत्त मालिगाउँले घटनास्थलबाट प्रहरीले प्रयोग गर्ने चिनियाँ पेस्तोल ‘टाइप–५४’ बरामद गरेको छ ।

प्रधान न्यायाधीशको सुरक्षा टिममा कार्यरत सहायक हवल्दार प्रकाश पुन मगर गएराति नयाँ वर्ष मनाउन ७४ वर्षीया तिर्थमालीको निवासमा गएका थिए । तिर्थमाली नातामा उनको हजुरआमा हुन् । पारिवारिक जमघटको माहौलमा प्रकाशले तिर्थमालीलाई गोली प्रहार गरेर फरार भए ।

गोली प्रहार गरेर उनले आफ्नो पेस्तोल त्यहीँ छाडे । प्रहरी वृत्त मालिगाउँको टोलीले गएराति नै पेस्तोल बरामद गरेको छ । प्रारम्भिक अनुसन्धानबाट १ राउण्ड फायर भएको देखिएको उपत्यका जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले बताए ।

चिनियाँ ‘टाइप–५४’ पेस्तोल भीआईपी सुरक्षामा खटिने प्रहरीहरूले प्रयोग गर्दै आएका छन् । सामान्य अवस्थामा सहायक हवल्दारले पेस्तोल बोक्न पाउँदैनन् । तर, भीआईपीको सुरक्षामा खटिएको हुनाले प्रकाशले पेस्तोल पाएको प्रहरी प्रधान कार्यालयका एकजना अधिकृतले जानकारी दिए ।

सहायक हवल्दार प्रकाश पुनलाई प्रहरीले बागडोलबाट पक्राउ गरेको छ । आरोपीलाई अहिले अनुसन्धानका लागि नक्साल स्थित प्रहरी प्रधान कार्यालयमा लगिएको छ । पुनकी आमाको खुट्टामा गोली लागेको छ । उनको ट्रमा सेन्टरमा उपचार हुँदै छ ।