काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार निर्माण भएको तीन महिनामा धेरै सकारात्मक संकेतहरू देखा परेको बताएका छन्। नेकपा माओवादी प्रवास समन्वय समितिको भर्चुअल बैठकलाई सम्बोधन गर्दै प्रचण्डले विदेशमा रहेका नेपालीले पठाएको रेमिटेन्सबाट विदेशी मुद्राको सञ्चितिमा उत्साह थपेकोले बैदेशिक रोजगारीको सुधारको लागी सरकारले धेरै काम गरिसकेको र अझै थप गर्ने बताए ।
उनले बैदेशिक रोजगारीबाट रेमिटेन्समार्फत विदेशी मुद्रा सञ्चितिमा धेरै रामो सुधार भएको जनाउँदै विदेशी मुद्रा सञ्चिती ११ महिनालाई पुग्ने संकलन हुनु आफैंमा अर्थतन्त्र सुधारको संकेत भएको बताए।
प्रधानमन्त्री प्रचण्डले आफुले सरकारको नेतृत्व गर्ने अवसर पाउनु चुनौती र अवसर दुवै भएको जनाउँदै संयम भएर देश र जनताको पक्षमा काम गर्ने बताए। प्रचण्डले चुनौतीपूर्ण अवस्थामा समेत राम्रो र धेरै काम भइरहेको भन्दै हालको अर्थतन्त्र अप्ठ्यारो अवस्थामा भए पनि सुधारको अवस्थामा प्रवेश गरेको बताएका छन ।
प्रधानमन्त्री प्रचण्डले आफ्नै कार्यकालमा प्रवासमा रहेका नेपालीहरुलाई आफै बसेको देशबाट मताधिकार गर्न पाउने ब्यबस्था गरिने उक्त कार्यक्रममा बताए । यसबाट लाखौं प्रवासी नेपालीहरु लाभान्वित हुने र मताधिकारबाट बन्चित हुन नपर्ने बताए ।