उद्योग वाणिज्य महासङ्घ अध्यक्ष ढकालका ५ प्रतिबद्धता

काठमाण्डौ। नेपाल उद्योग वाणिज्य महासङ्घका नवनिर्वाचित अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई नागरिकले हेर्ने दृष्टिकोण सकारात्मक बनाउने बताउनुभएको छ ।

बिहीवार महासङ्घको अध्यक्षको रूपमा शपथ लिएपछि ढकालले आफ्नो कार्यकालमा मुख्य पाँच वटा कामलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाउनुभएको हो । उहाँले निजी क्षेत्रलाई हेर्न दृष्टिकोण परिवर्तन गर्ने काम सुरु भएको भन्दै केही दिनमा यसको नतिजा देखिने बताउनुभयो । जिल्ला, नगरबाट आएका मागहरू तत्काल समाधान गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो । पछिल्लो समय कोरोना महामारीलगायत अन्य बाह्य कारणले गुमेको रोजगारी बढाउन, राज्यको नीति व्यवसायीमैत्री बनाउन पहल गर्ने उहाँको भनाइ छ ।

अध्यक्ष ढकालले महासङ्घमा नेतृत्वलाई गाली गर्नुभन्दा पनि सबैबीच सहकार्य गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले वैदेशिक लगानी ल्याउन नीति सुधार गर्न पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले आफ्नो कार्यकालमा महासङ्घमा केही न केही सुधार गर्ने बताउनुभयो ।

महासङ्घको विधानअनुसार यसअघि वरिष्ठ उपाध्यक्ष रहनुभएका ढकाल स्वतः अध्यक्ष चयन हुनुभएको हो । उहाँले आजै महासङ्घका निवर्तमान अध्यक्ष शेखर गोल्छाबाट पद तथा गोपनीयताको शपथ लिनुभएको छ । अध्यक्षलाई पद तथा गोपनीयताको शपथपछि बोल्दै निवर्तमान अध्यक्ष गोल्छाले अध्यक्ष ढकालले जनाएका पाँच प्रतिबद्धता कार्यान्वयन गर्न साथमा काम गर्ने बताउनुभयो ।