काठमाण्डौ ।
नेपाल उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ चयन हुनुभएको छ । बुधवार दोस्रो चरणको चुनाव हुनुभन्दा अघि गरिएको सहमतिको प्रयास सफल गएपछि श्रेष्ठ महासङ्घको वरिष्ठ उपाध्यक्षमा चयन हुनुभएको घोषणा गरिएको हो । उपाध्यक्षका अर्का उम्मेदवार उमेशलाल श्रेष्ठले अञ्जनलाई समर्थन गर्नुभएपछि उहाँ निर्विरोध चयन हुनुभयो ।
यसअघि बुधवार नै भएको चुनावको पहिलो चरणमा तीन प्रतिस्पर्धीमध्ये कसैले पनि ५० प्रतिशत मत प्राप्त नगरेपछि दिउँसो २ बजेका लागि दोस्रो चरणको चुनाव हुने तय भएको थियो । पहिलो चरणको त्रिपक्षी प्रतिस्पर्धामा अञ्जन श्रेष्ठ, उमेशलाल श्रेष्ठ र रामचन्द्र संघई हुनुहुन्थ्यो । पहिलो चरणबाट संघई बाहिरिएपछि अञ्जन र उमेशलालबीच दोस्रो चरणको चुनाव हुने तय भएको थियो ।
महासङ्घको विधानअनुसार वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुनका लागि कम्तीमा ५० प्रतिशत मत प्राप्त गर्नुपर्छ । महासङ्घको विधानअनुसार हालका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल आगामी कार्यकालका लागि स्वतः अध्यक्ष हुनुहुनेछ ।