नेपालले जित्यो थ्री नेसन्स कपको उपाधि

काठमाण्डौ। नेपालले प्रधानमन्त्री थ्री नेसन्स कपको उपाधि जितेको छ। आज भएको फाइनल खेलमा प्रतिस्पर्धि लाओसलाई २–१ गोलले हराउँदै आयोजक नेपालले उपाधि जितेको हो।त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको खेलमा १ गोलले पछाडि परेको अवस्थामा नेपालले उत्कृष्ट पुनरागमन गरेको हो ।

खेलको १७ औँ मिनेटमा लाओसका फोन्साक सिसाभाथले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। त्यसपछि खेलको २४ अ‍ौँ मिनेटमा आयुष घलानले गोल गर्दै नेपाललाई १–१ गोलको बराबरीमा ल्याउँदा पहिलो हाफ बराबरीमा सकिएको थियो।

निकै प्रतिस्पर्धात्मक खेलको ८७ औँ मिनेटमा मनिष डाँगीले गोल गर्दै नेपाललाई २–१ ले जिताए। नेपालले उपाधिसहित ५ हजार अमेरिकी डलर र उपविजेता लाओसले ३ हजार डलर पुरस्कार पाएको छ। फाइनलमा खेलमा मनिष डाँगी म्यान अफ दि म्याच चुनिँदै २ सय ५० डलर प्राप्त गरे।

यस्तै प्रतियोगितामा आयुष घलान सर्वोत्कृष्ट खेलाडी हुँदै ५ सय डलर प्राप्त पारे। प्रतियोगितामा नेपाल, लाओस र भुटानको सहभागिता थियो। भुटान समूह चरणबाटै बाहिरिँदा नेपाल र लाओसले उपाधिका लागि प्रतिस्पर्धा गरेका हुन्।