काठमाडौं। सत्तारुढ दल नेकपा माओवादी केन्द्रले सरकारमा रहेका मन्त्रीको जिम्मेवारी हेरफेर गर्ने भएको छ। स्रोतकाअनुसार
उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ उपप्रधानसहित गृह मन्त्री
बन्न लागेका छन् ।
तत्कालीन एमालेसहितको गठबन्धन रहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले गृह मन्त्रालय नपाए सरकारमा नजाने अडान लिएपछि माओवादीका वरिष्ठ उपाध्यक्षसमेत रहेका श्रेष्ठ उपप्रधानसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारीमा सरकारमा गएका थिए ।
अर्थ मन्त्रालय नेपाली कांग्रेसले लिने भएपछि गृह मन्त्रालय माओवादीले लिने सहमति भएको हो।
यसैबीच भौतिक पूर्वाधार मन्त्रालयबाट बिदा हुने भएपछि करिब सय दिनमा गरिएको काम र सुरुवात भएको कामका बारेमा जानकारी दिन उपप्रधानमन्त्री श्रेष्ठले आज पत्रकार सम्मेलन गर्दैछन्।
श्रेष्ठसँगै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको जिम्मेवारीमा रहेका अमनलालमोदी सहरी विकास वा ऊर्जा मध्ये एक मन्त्रालयमा पठाउने तयारी छ ।
सरकारको प्रवक्ताको जिम्मेवारीमा रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको जिम्मेवारी भने यथावत् रहने भएको छ ।
कांग्रेसले सञ्चार मन्त्रालयमा दाबी गरिरहेको भए पनि सरकारको नेतृत्व नै माओवादी अध्यक्ष प्रचण्डले गरिरहेको अवस्थामा सरकारको प्रवक्ताको जिम्मेवारी माओवादीले नै लिनुपर्ने अडानका कारण कांग्रेस पछि हटेको छ ।