यस्तो बन्नेछ नयाँ सत्ता समिकरण : कांग्रेसलाई ८, रास्वपालाई ३ मन्त्रालय

काठमाडौं। सरकारले भोलीसम्ममा पुर्णता पाउने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि मन्त्रिपरिषद् लाई पुर्णता दिने तयारी गरेका छन्।

हिजो बेलुकी बसेको माओवादी केन्द्र र नेपाली काँग्रेसको छुट्टाछुट्टै पदाधिकारी बैठकले सोमबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने र सरकारमा सहभागीहरुको नामावली आइतबारसम्म टुंगो लगाउने निर्णय गरेको थियो।

कांग्रेस प्रवक्ता प्रकाशशरण महतले दिएको जानकारीअनुसार सोमबारसम्म मन्त्रिपरिषद् विस्तारले पुर्णता पाउने छ। आफूहरु आन्तरिक छलफलमै रहेकाले आइतबारसम्ममा कांग्रेसले पनि नामावली टुंगो लगाउने तयारी गरेको उनको भनाइ छ।

कांग्रेसमा उपसभापति पूर्णबहादुर खड्काको नेतृत्त्वमा सरकारमा पठाउन सभापति शेरबहादुर देउवा तयार भएका छन्।

माओवादीको बैठकमा प्रधानमन्त्री प्रचण्डले सरकार विस्तारमा भइरहेको प्रगतिका बारेमा बताएका थिए। माओवादीले पाँचवटा मन्त्रालयको जिम्मेवारी लिने तयारी छ ।कांग्रेसले भने दाबी गरेअनुसार नै ८ वटै मन्त्रालय दिने तयारी प्रधानमन्त्रीको छ।

स्रोतले भन्यो, माओवादी ५, रास्वपा र नेकपा एस ३।३, जसपा २, बाँकी साना दललाई एकएक मन्त्री दिने तयारी छ ।

त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीलाई ३, नेकपा एकीकृत समाजवादी पार्टीलाई ३, जसपालाई २, बाँकी रहेका साना दललाई एक एक वटा मन्त्रालय दिने तयारी छ ।

प्रधानमन्त्रीले आफू निकटका नेताहरुसँग रास्वपासहितका पार्टीलाई सरकारमा सहभागी गराउने तयारी भएकाले विस्तारमा ढिलाई भएको बताएका छन्। साना पार्टीले पनि उपप्रधानमन्त्रीसहित मन्त्रालयमा दाबी गरेका कारण कठिनाइ भएको छ।