हैसियत अनुसार कांग्रेस सरकारमा जाने, यस्तो छ काँग्रेसले चाहेको हैसियत

काठमाडौं। नेपाली कांग्रेसले ठूलो पार्टीको हैसियतले सरकारमा सहभागी हुने निर्णय गरेको छ। शनिबार बेलुका पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले पार्टीको हैसियतले सम्मानजनक संख्याका आधारमा सरकारमा सहभागी हुने निर्णय गरेको हो।

पार्टी प्रवक्ता डा प्रकाश शरण महतले गठबन्धनमा रहेका दलहरूले मन्त्रिपरिषदमा आफ्नै दाबी गरिरहेकाले कांग्रेसले पनि ठूलो दलको हैसियतले सम्मानजनक संख्या पाउनेगरी सरकारमा जाने बताए।

कांग्रेसले यसअघि नेकपा एमाले सरकारमा हुँदा पाएका आठ मन्त्रालय नै दाबी गरेको छ।

बैठकमा पनि आठ मन्त्रालय दाबी गर्नेबारे छलफल भएको थियो।

कांग्रेसले सरकारमा पाउने मन्त्रालयका बारेमा भने सभापति देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्ने उनले बताए। प्रधानमन्त्रीसँग छलफलपछि टुंगो लागेमा पार्टीले नाम पठाउने उनले जानकारी दिए।

यस्तै बैठकले वैशाख १० गते हुने उपनिर्वाचनका लागि उम्मेदवार चयन लगायतका विषयमा छलफल गर्न सोमबार संसदीय दलको बैठक बोलाउने निर्णय पनि गरेको छ।