कांग्रेस भित्रैबाट विपीमाथि अन्याय भयो : महामन्त्री गगन थापा

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी भित्रैबाट विपी कोइरालामाथि अन्याय भईरहेको टिप्पणी गर्नुभएको छ। आजको समस्या समाधान गर्न पनि विपी कोइरालाले नै भनिदिएको हुनुपर्ने अवस्था पार्टीभित्र रहनु विपीमाथि नै कांग्रेसले अन्याय गर्नु रहेको उहाँको तर्क थियो।

नेपाल ट्रेड युनियन कांग्रेसको आजबाट काठमाडौंमा सुरु भएको नीति अधिवेशनमा बोल्दै महामन्त्री थापाले नेपालमा सृजना भएका रोजगारीमा नेपालीहरुले काम नपाउने चुनौति आज रहेको र त्यसको समाधान विपी कोइरालाको भनाईलाई खोजेर गर्न नसकिने स्पष्ट पार्नुभयो।

उहाँले हाम्रो भागको समस्याको समाधान हामी आफैंले गर्नुपर्ने भन्दै त्यसमा लाग्न पनि ट्रेड युनियन कांग्रेसका पदाधिकारीहरुलाई सचेत गराउनुभयो।महामन्त्री थापाले विपी कोइराला कांग्रेसका लागि मूल विचारधाराको स्रोत भएपनि आजको चुनौति हामी आफैंले समाधान गरेर अघि बढनुपर्ने बताउनुभयो ।

उहाँले पार्टी भित्र विचार निर्माणको सवालमा खुलेर बहस गर्नुपर्ने बेला आएको पनि बताउनुभयो। त्यसका लागि आफूले केही वैचारिक छलफल चलाउन खोजेको तर त्यसमा पार्टी भित्रैबाट साथ नपाएको महामन्त्री थापाको गुनासो थियो। उहाँले वैदेशिक रोजगारीमा जान दिने अनि त्यसो गर्नु गलत छ भनेर मुलुकलाई अघि बढाउन नसकिने बताउनु भयो ।