कस्तो रह्यो निवर्तमान राष्ट्रपति भण्डारीको २ कार्यकाल ?

काठमाडौं। गणतन्त्र नेपालको दोस्रो राष्ट्रपतिको जिम्मेवारीमा दुई कार्यकाल ब्यतित गर्नुभएकी राष्ट्रपति विद्यादेवी भण्डारीको दोस्रो कार्यकाल गत आइतबारदेखि सकिएको छ ।चौथो कार्यकालका लागि तेस्रो राष्ट्रपतिको रुपमा रामचन्द्र पौडेल गत बिहीबार निर्वाचित भएसँगै सोमबार पद तथा गोपनीयताको शपथ लिएर सँगै पदभार ग्रहण गरेपछि भण्डारी शितलनिवासको भूमिकाबाट बिदा हुनुभयो ।

राजनीतिक रुपमा नेकपा एमालेमा उपाध्यक्ष रहेकै समयमा राष्ट्रपतिमा पदासीन हुनुभएकी भण्डारीलाई पार्टीमा हालका अध्यक्ष केपी शर्मा ओली निकट मानिन्छ। त्यसैले सोही प्रवृत्ति पछिल्लो समय राष्ट्रपतिको भूमिकामा रहँदासमेत देखाएको भन्दै आलोचना पनि व्यापक भयो ।

यसले गर्दा राष्ट्रपतिको पदमा रहँदा भण्डारीको कार्यकाल विवादरहित हुन सकेन। अघिल्लो कार्यकालमा खासै विवादमा नआउनु भएकी भण्डारीको दास्रो कार्यकालमा आलोचना योग्य रह्यो।

तत्कालीन माओवादी केन्द्र र एमालेबीच एकता भएर बनेको नेकपाकालमा भएको पार्टीको आन्तरिक शक्ति संघर्षमा उहाँको भूमिका निर्विवाद हुन नसकेको यथार्थता उहाँको भूमिकाले देखाउँछ।

राष्ट्रपति भण्डारीको भूमिका पछिल्लो नागरिकता विधेयकसम्म आउदा उल्लेख्य रुपमा विवादास्पद चरित्र प्रस्फुटित हुन पुग्यो। यद्यपि नागरिकता विधेयक रोकेर राष्ट्रपति भण्डारीले राष्ट्रको हितमा काम गरेको भन्दै प्रसंशा पनि भयो।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन मध्यरातमा सदर गरेको विषय विवादरहित हुन सकेन। तर, उहाँको संवैधानिक दायित्वभन्दा बाहिर गएर गरिएको कार्य पदको गरिमा माथि आँच आउने कदम

को रुपमा धेरैले व्याख्या गरे।

नेपालका हालसम्म राष्ट्रपतिको तीन कार्यकाल बहन गरेपनि राष्ट्रपति भण्डारीले दुई कार्यकाल राष्ट्रपतिमा पदासीन रहने सौभाग्य पाउनु भएको थियो । एमालेका तत्कालीन महासचिव मदन भण्डारीकी श्रीमती रहेकी भण्डारी मदनको रहस्यमय जीप दुघर्टनापछि राष्ट्रिय राजनीतिमा प्रवेश गर्नुभएको थियो ।
एमालेका महासचिव रहेका भण्डारीले प्रतिवादन गरेको जनताको बहुदलीय जनवाद हाल एमालेले मार्गदर्शक सिद्धान्तको रुपमा अंगीकार गर्दै आएको छ।

यद्यपि जबज भनिने एमालेको संसदीय प्रजातन्त्र सीकार्ने उक्त सिद्धान्तको निर्माणमा तत्कालीन एमालेका अन्य नेताहरुको भूमिका रहेको समेत बताइन्छ । तर, त्यसको श्रेय हालसम्मै उनै मदन भण्डारीलाई नै जान्छ ।

उनै भण्डारीकी श्रीमती रहेकी निवर्तमान राष्ट्रपति भण्डारीको कार्यकाल सकिदै गर्दा केही कामकारबाहीले भने उनको साख कायम राख्न सकेन।तत्कालीन प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेको असंवैधानिक कदमलाई वैधता दिनु राष्ट्रपति भण्डारीको गम्भीर कमजोरी भएको आजपनि चर्चा हुने गर्दछ।

ओलीले दुई पटक सदन विघटन गरेर मुलुकलाई अस्थिरता तर्फ लैजाने कार्यलाई प्रसय दिनु भण्डारीको संवैधानिक त्रुटि

रहेको बताइन्छ।

संविधानको संरक्षकका रुपमा रहेको राष्ट्रपति पदको गरिमालाई कायम नराखेरै पार्टीभित्रको ओली पक्षधर कार्यकर्ताको रुपमा राष्ट्रपतिको भूमिका दर्शाएको उहाँको दुई कार्यकालले दलीय घेराभन्दा बाहिर रहेर सबैले अपनत्वबोध गर्न नसकेको देखिन्छ।

केही विवादित काम भएको भए पनि राष्ट्रपति भण्डारीको कार्यकालमा ठूला परिघटना नभएका कारण समग्रमा उहाँको कार्यकाललाई सन्तोषजनक

रुपमा नै हेरिन्छ।

खास गरेर भण्डारीको जीवनी कस्तो छ त? (राष्ट्रपतिको कार्यालयले उपलब्ध गराएको निवर्तमान राष्ट्रपति भण्डारीको जीवनी जस्ताको तस्तै)
वर्तमान
निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीज्यू लोकतान्त्रिक गणतन्त्र नेपालको दोस्रो राष्ट्रपति र नेपालको संविधान घोषणा भएपश्चात् निर्वाचित हुने पहिलो राष्ट्रपति हुनुहुन्छ । उहाँ मुलुकको सर्वोच्च पदमा निर्वाचित हुनुहुने पहिलो नेपाली महिला पनि हुनुहुन्छ । उहाँ विक्रम सम्बत् २०७२ साल कार्तिक ११ गते, इस्वी सम्बत् २०१५ अक्टोबर २८ मा नेपालको व्यवस्थापिका-संसदबाट राष्ट्रप्रमुखमा निर्वाचित हुनुभयो । उहाँ राष्ट्रप्रमुखका रूपमा देशको नेतृत्व गर्ने विश्वकै छब्बीसौँ महिला हुनुहुन्छ । पहिलो कार्यकाल सफलता पूर्वक सम्पन्न गरी वि.सं. २०७४ साल फागुन २९ गते दोस्रो कार्यकालका लागि नेपालको राष्ट्रपति पदमा निर्वाचित हुनुभई फागुन ३० गतेदेखि राष्ट्रपति पदको कार्यभार सम्हाल्नुभयो

बाल्यकाल
भण्डारीको जन्म वि.सं. २०१८ साल असार ५ गते नेपालको पूर्वी पहाडी जिल्ला भोजपुरको मानेभञ्ज्याङ गाउँमा भएको थियो । आमा मिथिला पाण्डे र बुबा स्व.रामबहादुर पाण्डेका पाँच छोराछोरीमा उहाँ जेष्ठ सन्तान हुनुहुन्छ । गाउँको एउटा सामान्य किसान परिवारमा जन्मेर सङ्घर्षका अनेकौं आरोह-अवरोहहरू पार गर्दै राष्ट्रपति जस्तो गरिमामय जिम्मेवारीमा पुग्‍न सफल उहाँको जीवन सबैका लागि प्रेरणादायी र उर्जापूर्ण छ ।

विद्यार्थी जीवन र राजनीति
भण्डारीले विद्यालय शिक्षा आफ्नै गाउँको बेहेरेश्‍वर प्राथमिक विद्यालय, पञ्‍चकन्या मिडिल स्कूल, भूल्के र विद्योदय व्यावसायिक माध्यमिक विद्यालय, भोजपुरमा हासिल गर्नुभयो । यसैगरी उच्च शिक्षा क्रमशः भोजपुर क्याम्पस, भोजपुर र महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस, विराटनगरमा आर्जन गर्नुभयो । भोजपुर क्याम्पसमा अध्ययनरत रहँदाको समय उहाँको जीवनयात्राका महत्वपूर्ण मोडका रूपमा स्थापित भए । त्यस क्रममा उहाँले नेपाली समाजको दयनीय अवस्थाका मूलभूत कारणहरूलाई बुझ्ने अवसर पाउनुभयो र लोकतन्त्रबिना मुलुकको अग्रगति संभव छैन भन्ने निष्कर्षमा पुग्नुभयो । वामपन्थी-लोकतान्त्रिक गतिविधिहरूमा सहभागी हुने क्रममा उहाँको राजनीतिक दृष्टिकोण उन्नत बन्न पुग्यो । आम विद्यार्थीहरूका हकहितका विषयहरूका अतिरिक्त उहाँ निरङ्कुश राजतन्त्र र निर्दलीय पञ्चायती व्यवस्था विरोधी लोकतान्त्रिक आन्दोलनमा सक्रिय सहभागी हुनुभयो । यससँगै उहाँको जीवनको कठिन र जोखिमपूर्ण राजनीतिक यात्राको आरम्भ भयो । त्यस क्रममा उहाँ विद्यार्थीको हकहितको लागि समर्पित एक उदीयमान नेताका रूपमा स्थापित हुँदै आठ बर्षसम्म अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को पूर्वी क्षेत्र-सङ्गठनको नेतृत्वमा रहनु भयो । यसै अवधिमा उहाँ विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अत्यधिक मतसहित कोषाध्यक्ष पदमा निर्वाचित हुनुभयो ।

बैवाहिक जीवन र राजनीति
भोजपुरको विद्योदय माध्यमिक विद्यालयमा अध्ययन गर्ने क्रममै उहाँ नेपालको कम्युनिष्ट आन्दोलनप्रति आकर्षित हुनुभएको थियो । वि.सं. २०३५ सालमा नेपाल कम्युनिष्ट पार्टी (माले) को स्थापनालगत्तै त्यस पार्टीको युथलिगको कार्यकर्ताको रूपमा उहाँको सङ्गठित राजनीतिक जीवनको आरम्भ भयो र एक वर्षपछि उहाँले उक्त पार्टीको सदस्यता प्राप्त गर्नुभयो । यस सँगसँगै उहाँ वि.सं.२०३७ सालमा नेकपा (माले) निकट अखिल नेपाल महिला संघको सदस्य बन्नुभयो । महिला संघमा आवद्ध भएदेखि नै उहाँले नेपाली महिलाहरूले भोग्नुपरेका उत्पीडनका विरुद्ध निरन्तर आवाज उठाइरहनु भयो र महिला समानता र अधिकारको प्राप्तिको लागि निरन्तर संघर्षरत रहनुभयो । यसरी उहाँको राजनीतिक जीवन विद्यार्थी आन्दोलनको अग्रणी, महिला अधिकारको सक्रिय अभियन्ता र लोकतन्त्रका निम्ति संघर्षरत पार्टीको प्रतिवद्ध कार्यकर्ताका रूपमा तीनवटा आयाममा सँगसँगै अगाडि बढ्यो ।

वि.सं. २०३९ सालमा उहाँको शुभविवाह कम्युनिष्ट पार्टीका लोकप्रिय नेता मदन भण्डारीसँग भयो । तर नेता मदन भण्डारीको २०५० साल जेठ ३ गतेको एक रहस्यमय सडक दुर्घटनामा दुःखद निधन भएसँगै उहाँको दाम्पत्य जीवन एघार बर्षको छोटो समयमै समाप्त भयो । पतिको दुःखद अवसानपश्चात् नाबालक नै रहेका छोरीहरू उषाकिरण र निशा कुसुमको लालन-पालनको साथसाथै थप राजनीतिक जिम्मेवारी उहाँले लिनुभयो ।

राष्ट्रिय राजनीतिमा योगदान
वि.सं. २०५४ को माघमा सम्पन्न नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी) को छैठौं राष्ट्रिय महाधिवेशनबाट उहाँ पार्टीको केन्द्रीय कमिटी सदस्यमा निर्वाचित हुनुभयो । त्यसयता लगातार उहाँले पार्टीको नीतिनिर्माणको तहमा रहेर महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो । वि. सं. २०५९ सालमा सम्पन्न सातौं महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्यमा पुनः निर्वाचित हुँदै उहाँ वि. सं. २०६५ सालमा आयोजित आठौँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय उपाध्यक्षमा निर्वाचित हुनुभयो । उहाँको लोकप्रियता, क्रियाशीलता र निष्ठाकै कारण वि. सं. २०७१ सालमा आयोजित नवौँ राष्ट्रिय महाधिवेशनमा उहाँ पुनः पार्टीको केन्द्रीय उपाध्यक्ष तथा स्थायी कमिटी सदस्यमा निर्वाचित हुनुभयो ।

संसदीय निर्वाचनमा पनि उहाँको परिचय लोकप्रिय र सफल नेताको रूपमा रहेको छ । संसदीय निर्वाचनमा उहाँको सहभागिता पति मदन भण्डारीको निधनपछि रिक्त पदका लागि गरिएको वि.सं. २०५० सालको उपनिर्वाचनसँगै सुरु भयो । सो उपनिर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नं. १ बाट उहाँ प्रतिनिधिसभा सदस्यमा पहिलोपटक निर्वाचित हुनुभयो । वि. सं. २०५१ सालको मध्यावधि निर्वाचन र वि. सं. २०५६ सालको प्रतिनिधि सभा सदस्यको निर्वाचन समेत गरी उहाँ काठमाडौँका विभिन्न निर्वाचन क्षेत्रबाट तीन पटक लगातार प्रतिनिधि सभा सदस्यमा विजयी हुनुभयो। वि.सं. २०५४ सालमा वातावरण तथा जनसंख्या मन्त्रीका रूपमा उहाँले भूमिका निर्वाह गर्नुभएको थियो ।

यसैगरी राष्ट्रपतिज्यूले ‌वि.सं. २०५० देखि २०५४ सम्म नेपाल ट्रेड युनियन महासंघ (जिफण्ट)को राष्ट्रिय कमिटि सदस्य तथा केन्द्रीय महिला मजदुर विभागको संयोजकको रूपमा श्रमिक आन्दोलनको नेतृत्वदायी भूमिका समेत निर्वाह गर्नुभएको थियो।महिला अधिकारका लागि निरन्तर संघर्षरत उहाँ वि.सं. २०५५ सालमा अखिल नेपाल महिला संघको अध्यक्षमा निर्वाचित हुनु भयो। त्यसयता लगातार तीन पटकसम्म उक्त संगठनको अध्यक्ष निर्वाचित भै उहाँले लैङ्गिक समानताका लागि अथक प्रयत्न गरि रहनु भयो। संसद सदस्यका हैसियतले संसदभित्र महिला हकअधिकार र समानताका लागि उहाँले लड्नु भएको लडाइँ सबैका लागि स्मरणीय रहेको छ। लैङ्गिक समानता, समान ज्याला, महिला शिक्षा र घरेलु हिंसाको उन्मूलनका लागि उहाँले संसद र सडकबाट विभिन्न आन्दोलन र अभियानहरूको नेतृत्व गर्नुभएको छ।

वि.सं.२०६२/६३ को आन्दोलनपछि पुनःस्थापित प्रतिनिधिसभामा प्रस्तुत गरिएको राज्यका हरेक अङ्गमा न्यूनतम ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्नु पर्ने विशेष प्रस्तावको प्रस्तावक उहाँ नै हुनुहुन्थ्यो र संसदले उक्त प्रस्तावलाई सर्वसम्मत ढङ्गले पारित गर्दै सरकारलाई यसको कार्यान्वयनका लागि विशेष निर्देशन दिएको थियो। सोही प्रस्ताव अनुरूपको विधेयक तयार गर्ने प्रक्रियामा समेत उहाँको अहम् भूमिका रहेको थियो। वि.सं. २०७२ साल असोज ३ गते संविधानसभाबाट पारित नेपालको संविधानले महिलाको हक र अधिकारका विषयमा महत्वपूर्ण व्यवस्था गरेको छ र राजनीतिक प्रतिनिधित्व र सरकारी सेवामा महिलाको सहभागिता सुनिश्चित गरेको छ। यस व्यवस्थासँगै नेपाली महिलाहरूले युगान्तकारी संवैधानिक-कानूनी उपलब्धि हासिल गरेका हुन् र महिला सहभागिताका दृष्टिले नेपाल विश्वमा उदाहरणीय बन्नपुगेको छ। नेपाली महिलाहरूले प्राप्त गरेको यस सफलतामा वर्तमान राष्ट्रपतिको उल्लेखनीय योगदान रहेको यथार्थ नेपाली समाजमा स्थापित छ ।

उहाँले वि.सं. २०६६ सालमा रक्षा मन्त्रीको जिम्मेवारी सम्हाल्नुभयो। चुनौतीपूर्ण र संवेदनशील रक्षा मन्त्रालयको पदभार सम्हाल्ने उहाँ नेपालकै पहिलो महिला हुनुहुन्छ । रक्षा मन्त्रीका हैसियतले त्यस अवधिमा उहाँले नेपाली सेनामा पूर्व माओवादी लडाकुहरूको समायोजन र राष्ट्रिय सुरक्षा नीतिको तर्जुमा गर्ने जस्ता महत्वपूर्ण दायित्व कुशलतापूर्वक सम्पादन गर्नुभयो । संविधानसभा सदस्य र संविधानसँग सम्बन्धित जटिल विवादहरूलाई निष्कर्षमा पु¥याउने महत्वपूर्ण वार्तामा सक्रिय सहभागीका हैसियतले नेपालको संविधानको निर्माणमा महत्वपूर्ण भूमिका खेल्नु हुने श्रीमती विद्यादेवी भण्डारी राष्ट्रपतिमा निर्वाचित हुनु अगाडिसम्म नेकपा (एमाले)का उपाध्यक्ष, अखिल नेपाल महिला संघका अध्यक्ष र व्यवस्थापिका-संसद सदस्यको जिम्मेवारीमा हुनुहुन्थ्यो ।

जीवनीबाट प्रेरणा
दुर्गम ग्रामीण परिवेशमा सामान्य किसान परिवारमा जन्मनुभएकी एक नारी संघर्ष गर्दै मुलुककै सर्वोच्च पदमा पुग्न सफल हुनुले उहाँ सबैका लागि प्रेरणाको स्रोत बन्नुभएको छ ।