काठमाडौं।
अतिकम विकसित मुलुक(एलडिसि)को पाँचौ सम्मेलनमा नेपालको प्रतिनिधीत्व गर्दै कतार भ्रमणमा गएका उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ नेतृत्वको प्रतिनिधीमंडललाई गैर आवासीय नेपाली संघ एनआरएनए राष्ट्रिय समन्वय परिषद कतारले स्वागत गरेको छ । कतारको राजधानी दोहामा आइतबारदेखि सुरु भएको अतिकम विकसित राष्ट्रहरूको पाँचौँ सम्मेलनमा भाग लिन नेपाल सरकारका तर्फबाट उपप्रधान एबं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले सहभागि हुन श्रेष्ठ कतार पुगेका हुन् ।
९ मार्च सम्म हुने अतिकम विकसित राष्ट्रहरूको पाँचौ सम्मेलनमा भाग लिन कतार आएका उपप्रधानमन्त्री श्रेष्ठको सम्मानमा कार्यक्रम गरि एनआरएनए कतारले नेपालीहरुको सम्भावना र चुनौतिका बारेमा छलफल गरेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि र नेपाली डेलीगेट्सको नेतृत्व गरेका उपप्रधानमन्त्री श्रेष्ठले बैदेशिक रोजगारीमा जानुनै गलत नभएको जनाउदै परिवार लालन पालन र सन्तानको शिक्षाकै लागि अदक्ष कामदारका रूपमा विदेशिनु दुखद रहेको र यसको अन्त्य गर्नु सरकारको दायित्व भएको बताए। श्रेष्ठले दक्षता हासिल गरेर विश्वमा जहाँ बसेर जे पेशा गरे पनि यसले राष्ट्रलाई नै टेवा पुर्याउने बताए ।
श्रेष्ठले एकपटकको नेपाली सधैँको नेपाली भए पनि संविधानमा नेपाली नागरिकले दुईवटा देशको नागरिकता बोक्न नपाउने प्रावधान रहेको बताए । उनले २ वटा नागरिकता बोक्ने नागरिकले विदेशमा मताधिकार प्रयोग गर्ने हुँदा नेपालमा मताधिकारको प्रयोग गर्न नपाइने व्यवस्था गरिएको स्पष्ट पार्दै अब त्यसलाई कार्यान्वयनमा लैजाने बताए ।
श्रेष्ठले अहिले देशलाई हरित र लचिलो उद्योग, शिक्षा, स्वास्थ्य, विज्ञान र प्रविधि र कृषिमा ठूलो लगानीको आवश्यकता रहेको बताए ।उनले धेरै संकटको सामना गर्दा, अल्पविकसित देशलाई ठूलो लगानीको आवश्यकता रहेको धारणा व्यक्त गर्दै यस्मा विदेशमा बस्ने नेपालीहरुलाई साथ दिन आग्रह गरे ।
उपप्रधानमन्त्री श्रेष्ठले नेपाललाई अतिकम विकसित मुलुकबाट स्तरोन्नतिका लागि प्रक्रिया सहज र दीगो बनाउन नेपाल सरकारले आवश्यक काम गरिरहेको बताउँदै सन २०२६ बाट नेपाल अती कम बिकसित देशको सुचिवाट हट्ने बताए । उनले यसरि हटाउदा घाटा र नाफा दुबै हुने पनि बताए ।
उक्त कार्यक्रममा राष्ट्रीय योजना आयोगका उपाध्यक्ष डा मीन बहादुर श्रेष्ठले हाल देशको प्रमुख आय स्रोत रेमिटेन्स नै भएकाले बैधानिक स्रोतबाट रेमिटेन्स पठाउन सबैलाई आग्रह गरे । उनले विदेशमा रहेका नेपालीहरुले देशलाई धेरै माया गर्ने जनाउदै सबैको सहकार्यमा देशको विकास गर्नुपर्ने बताए ।कार्यक्रममा सहभागीता जनाएर श्रेष्ठ आज मंगलवार स्वदेश फिर्ता भएका छन ।