२० वर्षमुनिको नेपाली महिला टोलीले पनि प्यालेस्टाइनलाई ६–० ले हरायो

काठमाण्डौ।
एएफसी २० वर्षमुनिको महिला एसियन कप छनोटमा नेपालले प्यालेस्टाइनलाई हराएको छ। फैजल हल हुसेइनी इन्टरनेशनल स्टेडियममा भएको खेलमा नेपालले घरेलु टोली प्यालेस्टाइनलाई छ–शून्य गोल अन्तरले हरायो। नेपालको जितमा दीपा शाहीले चार गोल गरिन्। यस्तै गरिमा राईले दुई गोल गरिन्।

जितसँगै नेपालले तीन अङ्क जोडेको छ। समूह बी मा रहेको नेपालले अब दोस्रो खेलमा मार्च १२ मा नर्दन मारियाना आइल्यान्डसँग खेल्नेछ।छनोटबाट समूह विजेताले दोस्रो चरणमा स्थान बनाउने छन्। दोस्रो चरण जुन ३ देखि ११ सम्म हुनेछ। यो चरणबाट उत्कृष्ट चार टोलीले उज्वेकिस्तानमा हुने २० वर्षमुनिको महिला एसियन कप खेल्नेछन्।

एएफसी २० वर्षमुनिको महिला एसियन कप सन् २०२४ को मार्च ३ देखि १६ सम्म उज्वेकिस्तानमा हुनेछ । यस प्रतियोगिताका लागि आयोजना राष्ट्र उज्वेकिस्तानसहित सन् २०१९ मा भएको प्रतियोगिताको शीर्ष तीन टोली स्वतः छनोट भइसकेका छन् । उज्वेकिस्तानसहित पछिल्लो संस्करणको विजेता जापान, दोस्रो भएको उत्तर कोरिया र तेस्रो भएको दक्षिण कोरिया सिधै छनोट भइसकेका हुन् ।