राष्ट्रपति चुनावमा मतदान नगर्ने राप्रपाको निर्णय

काठमाडौं।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राष्ट्रपति चुनावमा मतदान नगर्ने भएको छ । केन्द्रीय कार्यसम्पादन समितिको आज बुधवार बसेको बैठकले राष्ट्रपति चुनावमा तटस्थ बस्ने निर्णय गरेको पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिनुभयो।

बैठकपछि बोल्दै लिङ्देनले राष्ट्रपतिका दुवै उम्मेदवार सक्रिय राजनीतिमा रहेकाले उहाँहरूबाट निष्पक्ष र राष्ट्रको अभिभावकीय भूमिका निर्वाह नहुने देखेपछि चुनावमा तटस्थ बस्न उपयुक्त हुने निष्कर्ष निकालेको तर्क गर्नुभयो ।

राप्रपाका १४ जना सङ्घीय सांसद र २८ जना प्रदेश सभा सदस्य छन् ।

भोलि बिहीवार राष्ट्रपति पदको चुनाव हुँदैछ । चुनावका लागि नौ दलको तर्फबाट साझा उम्मेदवारका रूपमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र एमालेबाट उपाध्यक्ष सुवास नेम्वाङले उम्मेदवारी दिनुभएको छ ।