भोलीदेखि लागु हुने गरि राष्ट्रपति निर्वाचन आचारसंहिता सार्वजनिक, यस्ता व्यक्तिहरुलाई लागु हुनेछ

काठमाडौं
राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका लागि आचारसंहिता सार्वजनिक भएको छ। निर्वाचन आयोगले भोलि फागुन १७ गतेदेखि चैत्र ५ गतेसम्म लागू हुनेगरी आचार संहिता सार्वजनिक गरेको हो।आचारसंहिता २०७९ भदौ १३ गते नेपाल राजपत्र खण्ड ७२,संख्या ३२ मा प्रकाशन भइसकेको आयोगले जनाएको छ।

आचारसंहिता नेपाल सरकार र नेपाल सरकारका मन्त्री,प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री,संघ,प्रदेश र स्थानीय तहका कर्मचारी,सुरक्षा निकाय,सुरक्षाकर्मी तथा कर्मचारी,सरकारी,अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय तथा कर्मचारी,राजनीतिक दल तथा राजनीतिक दलको भातृ सङ्गठन,उम्मेदवार तथा उम्मेदवारको प्रतिनिधि, राजनीतिक दल तथा उम्मेदवारको मतदान एवम् मतगणना प्रतिनिधि, सार्वजनिक पद धारण गरेको व्यक्ति, सञ्चार प्रतिष्ठान,सोका कर्मचारी तथा सञ्चारकर्मी र मतदातामा आचार संहिता लागू हुने निर्वाचन आयोगले जनाएको छ।

निर्वाचन आचार संहिताको पालना गरी निर्वाचनको स्‍वच्छता र विश्वासनीयता कायम गर्न आयोगले अपिल गरेको छ।आज राष्ट्रपतिमा मनोनयन दर्ता गराएका उम्मेदवारले मनोनयन फिर्ता लिनसक्ने र त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको निर्वाचन आयोगले जनाएको छ।

राष्ट्रपतिका लागि नेपाली कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेबाट सुवास चन्द्र नेम्बाङको उम्मेदवारी परेको छ। फागुन २५ मा राष्ट्रपतिको निर्वाचन हुँदैछ।