पुस १० गतेको गठबन्धन अस्वभाविक थियो, त्यही भएर भत्काइयो : गगन थापा

काठमाडौं ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पुस १० मा बनेको गठबन्धन अस्वभाविक भएकाले भत्किएको बताएका छन्।आज काठमाडौं क्षेत्र नम्बर ४ सांसदको कार्यालय उद्घाटन गर्दै थापाले निर्वाचन अघिको गठबन्धन भत्काएर पुस १० गते अप्राकृतिक गठबन्धन बनाउने गल्ती सच्चाइएको बताएका हुन्।

कतिपयले गठबन्धन भत्काउन लाग्नुभयो हैन? भनेर सोध्ने गरेको भन्दै महामन्त्री थापाले पुस १० मा भएको गल्ती सच्याएर अस्भाविक रुपमा बनेको गठबन्धन भत्काएको दावी गरे। उनले भने,

‘पुस १० मा जुग गठबन्धन बनेको थियो त्यो त्यो अस्वभाविक, अप्राकृतिक र अबान्छित थियो। त्यसैले भत्कियो।’

निर्वाचनमा फरक–फरक उद्देश्य भएका दलले गठबन्धन बनाएर जनताबीच मुलुक बनाउने प्रतिवद्धता गरेको र निर्वाचनपछि जनतामाझ गरेको प्रतिवद्धता पालना नगरेकाले अहिले ढिलो भएपनि निर्वाचन अघिको गठबन्धनलाई व्युताउन सफल भएको उनले बताए।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल’प्रचण्ड’ ले आफू प्रधानमन्त्री मात्रै हुने कुरा सोचेको भए अहिलेको गठबन्धन नै नबन्ने भन्दै उनले अहिलेको गठबन्धन पदका लागि नभएको दावी गरे।

उनले केन्द्रदेखि प्रदेशसम्म ८ दलीय गठबन्धनको सरकार बन्ने दावी गर्दै अब गठबन्धनलाई बलियो बनाएर सरकारलाई सफल बनाउनुपर्ने बताए। उनले जनतालाई कामले परिणाम दिन नसके फेरि अप्ठेरो अवस्था आउने भएकाले झ्याल ढोका बन्द गरेर काममा लाग्नुपर्नेमा जोड दिए।