बेलायतको कन्जरभेटिभ पार्टीका नेता ऋषि सुनक बेलायतको पहिलो भारतीय मूलका प्रधानमन्त्री बनेका छन् । प्रधानमन्त्री लिज ट्रससँग पराजित भएको दुई महिनाभन्दा कम समयमा कन्जरभेटिभ पार्टीका तर्फबाट उनी प्रधानमन्त्री बनेका हुन् ।
प्रधानमन्त्री भएको डेढ महिनामा लिज ट्रसले पदबाट राजीनामा दिएपछि नेता सुनको भाग्योदय भएको हो । लिज ट्रस बेलाइतको इतिहासमा सबैभन्दा कम समय सेवा गर्ने प्रधानमन्त्री बनेकी छन् ।
गत बिहीबार उनले राजीनामा दिएपछि ऋषि सुनक र पूर्वप्रधानमन्त्री बोरिस जोनसन नयाँ प्रधानमन्त्रीको दौडमा थिए । तर, बोरिस जोनसनले आफूलाई आवश्यक समर्थन रहेको दाबी गरे पनि पछि कन्जरभेटिभ पार्टीको नेतृत्व दौडबाट उनी बाहिरिएका थिए ।
नयाँ प्रधानमन्त्री सुनक पूर्वी अफ्रिकाबाट बेलायतमा बसाइँ सरेका भारतीय मूलका आमाबाबुका सन्तान हुन् ।
सन् १९८० मा बेलायतको साउथ ह्याम्प्टनमा जन्मिएका ऋषि भारतीय धनाड्य उद्योगपति नारायण मूर्तिपुत्री अक्षता मूर्तिसँग वैवाहिक सम्बन्ध गाँसेका सुनक दुई छोरीका पिता हुन् । बेलायतका २५० धनी परिवारमध्येका एक सुनकका बुबा यशवीर सुनक चिकित्सक हुन् भने आमा उषा सुनक अहिले पनि औषधि पसल चलाउँछिन् । उनीहरू अहिले पनि यही शहरमा बस्छन् । ऋषिका अभिभावकले राम्रो शिक्षाका लागि उनलाई निजी विद्यालयमा पढाए । यसको नतिजा उनको बाटो विन्चेस्टर कलेज, अक्सफोर्ड विश्वविद्यालय र स्ट्यानफोर्ड विश्वविद्यालयसम्म सोझियो ।
सन् २०१५ देखि सुनक बेलायतको योर्कशायर क्षेत्रबाट सांसद रहँदै आएका छन्।
हिन्दू पारिवारिक पृष्ठभूमिका सुनाकले आफूलाई हिन्दू धर्ममा आस्थावानका रुपमा चिनाउँछन्। यसअघि अर्थमन्त्री हुँदा उनले दिवालीका अवसरमा ११ डाउनिङ स्ट्रिटस्थित आफ्नो सरकारी निवासमा दिपावली मनाएका थिये
क्रिश्चियन बाहुल्य देशमा अर्थमन्त्री हुँदा उनले भगवत् गीता छोएर शपथ खाएका थिए ।