वीपी अध्ययन प्रतिष्ठान गाैरादह नगर समितिकाे कार्यालय उद्घाटन

प्रजातन्त्र सेनानी एवम् नेपाली कांग्रेसका पुर्व क्षेत्रीय सभापति वीरबहादुर प्रसाईंले शनिबार वीपी अध्ययन प्रतिष्ठान गाैरादह नगर समितिकाे कार्यालय उद्घाटन गरेका छन्।

कार्यालयकाे उद्घाटन गर्दै प्रसाईंले जननायक वीपी कोइरालाको जीवन संघर्ष, साहित्य र दर्शनको अध्ययन गर्ने ठाउँकाे रुपमा कार्यालयलाई प्रयोग गरिने बताए।

उनले भने उहाँको बिचार, साहित्य र दर्शन भावी पुस्ताका लागि अध्ययन एवम् अनुसन्धानकाे विषय बन्नेछ।

काेइराला राजनीति र साहित्यमा दक्षिण एसियाका उज्ज्वल नक्षत्र भएको चर्चा गर्दै उनले प्रतिष्ठान कांग्रेसकाे मात्रै नभएर सबै खाले बिचार समूहका नागरिकका लागि प्रेरणाका स्राेत रहेकाे बताए।

शनिबार गौरादह-१ बजारमा स्थापना गरिएको कार्यालय उद्घाटन समारोहमा बाेल्दै प्रतिष्ठानका गाैरादह सभापति कोमल ढुंगानाले प्रतिष्ठान युवाहरूका लागि उर्जा प्रदान गर्ने बैचारिक थलाे हुने धारणा राखे। ढुंगानाले भने – `वीपीका बिचार, पढ्न र सुन्न अब टाढा थाइरहनु पर्दैन। कांग्रेस, वीपी, प्रजातन्त्र र समाजवाद सिक्ने र बुझ्नेहरूका लागि प्रतिष्ठान बैचारिक सेतु बन्नेछ।´

आजै बसेको कार्यसमितिको बैठकले नगरपालिका भरि श्रद्धाञ्जली सभामा जाँदा प्रत्येक दिंवगत व्यक्तिका नाममा वीपी स्मृति वृक्ष राेपण गरिने निर्णय गरेको छ।

प्रतिष्ठानकाे कार्यालयमा वीपी र समाजवाद सम्बन्धि पुस्तक सहित अन्य उत्प्रेरक पुस्तक सहितकाे पुस्तकालय संचालन गरिने छ।

नगर समितिले आगामी कार्यक्रमका रुपमा वीपी, नेपाली काङ्ग्रेस र राजनीति विषयक क्षेत्रीय र प्रदेश स्तरीय हाजिरी जवाफ प्रतियोगिता र विभिन्न प्रकारका तालिम सञ्चालन गर्ने भएको छ।