गैर आवासीय नेपालीहरुलाई प्रधानमन्त्री देउवाको आह्वान

२५ असोज, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा पूँजी लगानी गरी नेपालको विकासमा सहयोग गर्न गैर आवासीय नेपालीहरुलाई आह्वान गरेका छन् । मंगलबार गैर आवासीय नेपाली संघको वार्षिक साधारण सभालाई सम्बोधन गर्दे उनले यस्तो आह्वान गरेका हुन् ।

प्रधानमन्त्री देउवाले गैर आवासीय नेपाली संघलाई सहजरुपमा लगानी गर्नसक्ने र लगानीको प्रतिफल उपभोग गर्नसक्ने वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताए । उनले हरेक गैर आवासीय नेपालीहरुले विदेशमा नेपालको पहिचान जगाउन, विदेशी लगानीकर्ताहरुलाई लगानी गर्न उत्प्रेरित गर्न, महत्वपूर्ण भूमिका खेल्नुपर्ने आवश्यक्ता रहेको बताए ।

उनले गैर आवासीय नेपाली समुदायले विदेशमा नेपालमा उत्पादित वस्तुको उपयोगलाई प्राथमिकता दिन र स्वदेशी उत्पादनहरुको विकास र प्रवद्र्धनमा सहयोग पुर्‍याउन आवश्यक रहेको पनि बताए ।

प्रधानमन्त्री देउवाले यसबाट नेपालको श्रम, सीप, कच्चा पदार्थमा आधारित साना तथा मझौला उद्योगहरुको संरक्षणमासमेत टेवा पुग्ने विश्वास व्यक्त गरे । उनले गैर आवासीय नेपालीहरुले विदेशमा आर्जन गरेको पूँजीलाई नेपालमा विभिन्न क्षेत्रमा लगानी गर्न जोड दिनुका साथै सम्बन्धित देशमा रहेका नेपालीहरुले समन्वय र सहकार्य गरी विदेशी लगानीकर्ताको पूँजीलाई नेपालमा भित्राउन समेत अग्रसरता लिन आवश्यक रहेको औल्याए ।