२५ असोज, तनहुँ । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि पनि तनहुँ-१ मा उम्मेदवार बनेका छन् । तनहुँबाट यसअघि ५ वटा चुनाव जितेका पौडेल सातौं पटक प्रतिस्पर्धामा उत्रिएका हुन् ।
२०४८ सालदेखि लगातार चुनाव जित्दै आएका पौडेललाई २०७४ को चुनावमा वाम गठबन्धनको समर्थन पाएका एमाले एमालेका उम्मेदवार कृष्णकुमार श्रेष्ठ (किसान) ले ६ हजार ८०२ मत अन्तरले पराजित गरेका थिए ।
तर यसपटक एकीकृत समाजवादीमा रहेका नेता श्रेष्ठले नै पौडेललाई चुनाव क्षेत्र छोडिदिएर बारा–४ मा गए । तनहुँ–१ बाटै उम्मेदवार सिफारिस भएका केन्द्रीय सदस्य शंकर भण्डारीलाई तनहुँ–२ मा र त्यहाँबाट टिकटको आकांक्षा राखेका केन्द्रीय सदस्य प्रदीप पौडेललाई काठमाडौं–५ मा पठाएर पौडेलले पार्टीभित्र सहज वातावरण बनाए ।
उम्मेदवारी दर्ताअघि यी केही चुनौती पन्छाए पनि पौडेलविरुद्ध पूर्वसहमहामन्त्री गोविन्दराज जोशी र पूर्व जिल्ला सचिव विश्वनाथ बास्तोलाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
एउटै पार्टीमा रहँदा पनि जोशी जहिल्यै पनि पौडेलको प्रतिस्पर्धी थिए भने बास्तोला पछिसम्म सहयोगी ।
जोशी र बास्तोलाले गठबन्धनको राजनीतिलाई अप्रजातान्त्रिक भन्दै यसले व्यक्तिको अधिकारलाई कुण्ठित गर्ने बताउँदै भोट मागिरहेका छन् ।