उपन्यासकार मणि नेपाली पनेरुले गत महिना लोकार्पण भएको पुस्तक सात जुनीको बिक्रीबाट प्राप्त सम्पूर्ण रकम समाजसेवामा लगाएका छन्। माइती नेपालीको संस्थापक एवं सिएनएन हिरो अनुराधा कोइरालाको हातबाट हेमा पनेरु अध्यक्ष तथा कलाकार अविनाश न्यौपाने उपाध्यक्ष एवं कार्यवाहक अध्यक्ष रहने गरी सात जुनी विकास कोष घोषणा गरी उक्त पुस्तकको बिक्रीबाट प्राप्त एक लाख हस्तान्तरण गरेका छन्।
हाल संयुक्त राज्य अमेरिका बस्दै आएका गोरखा जिल्लाको सौरपानीमा जन्मिएका पनेरुले सौरपानीलाई नै आधारविन्दु बनाई त्यहाँमा तमाम समस्या समाधानमा विकास कोषले काम गर्ने बताए।
‘यस पुस्तक बिक्रीको सम्पूर्ण रकम मेरो जन्मभूमि सौरपानीको विकासमा सदुपयोग गर्ने निर्णय भएकोले यो कोषको घोषणा गरेको छु। यो प्रयास मेरो मातृभूमि नेपालप्रतिको सङ्लो मायाले प्रेरित छ र म नेपाललाई प्रेम गर्छु भन्ने साङ्केतिक सत्कार्य हो, विश्वव्यापी सोचौं र स्थानीय रुपमा काम गरौँ भन्ने यो मेरो एक सन्देश पनि हो।’ पनेरुले बताए ।
विकास कोषको घोषणा गर्दै कोइरालाले काठमाडौँमा बसेर गाउँको कुरा गरेर चुनावको बेला मात्र मुख देखाउन गएर गाउँ समाजको विकास नहुने बताइन्।
मणि नेपाली पनेरु जी देशमा नबसेतापनि जानु अगाडि जुन समिति बनाएर काम गर्न छोडेर जाँदै हुनुहुन्छ त्यो समितिले समाजको खास समस्या के हो भन्ने पहिचान गरी इमान्दारीपूर्वक गाउँमै पुगेर काम गर्नेछ भन्ने विश्वास लिएकी छु। हामी चुनाव आउँदा मात्र गाउँ गएर त्यहाँका समस्या पहिल्याउन सक्दैनौँ, उनले भनिन्।
कोषका कार्यवाहक अध्यक्ष अविनाश न्यौपानेले यस कोषमार्फत इमान्दार भएर समाजको हितमा काम गर्ने बताए।
पनेरुद्वारा लिखित चार कृतिहरू उपन्यास सात जुनी, बालकविता संग्रह हाम्रो झन्डा, गीती संग्रह स्वर्गको गाथा र कविता संग्रह मुटु हराएको मान्छेु एकसाथ लोकापर्ण गरिएको थियो।
यि चार कृति मध्ये सात जुनीको बिक्रीबाट प्राप्त हुने सम्पूर्ण रकम विकास कोषमा राखिने छ। अन्य दाताबाट प्राप्त रकम समेत कोषमा जम्मा गरिनेछ।