स्वतन्त्र उम्मेद्वारी दिएर राजधानी सहरको मेयर निर्वाचित बालेनले सुरुमा कानुन हातमा लिएर ‘हिरोइजम् देखाएको आरोप पनि खेपेका थिए । तर १०० दिन पुग्दा बालेनले आशा जगाउने सुरुवात गरेको देखिन्छ ।
काठमाडौं महानगरपालिकाले सहरका अवैध संरचना हटाउन १ साउनमा जारी गरेको ३५ दिने सूचना पालना नभएपछि ३६औं दिनबाट डोजर चलाउन थाल्यो । महानगरपालिकाले अहिले मापदण्ड विपरितका डिजिटल र होर्डिङ बोर्डहरु पनि हटाउन थालेको छ ।
मेयर बालेन साहले महानगरभित्रका बिग्रेका ढल, सडक तत्काल मर्मतसम्भारका लागि पूर्वाधार एम्बुलेन्स सेवा संचालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरेका थिए, जुन उनले पहिलो कार्यपालिका बैठकबाटै निर्णय गराएर कार्यान्वयनमा ल्याए ।
बन्द रहेका ब्रुमरहरु पनि यसबिचमा सञ्चालनमा आए भने दमकल पनि थपिएको छ ।काठमाडौंमा हुने जात्रा, पर्वहरुलाई अन्तर्राष्ट्रियस्तरमा ब्रान्डिङ गर्ने बुँदा नीति तथा कार्यक्रममा छ । बजेटमा घोषणा भएअनुसार काठमाडौं महानगरपलिकासँग भगिनी सम्बन्ध रहेका विश्वका १८ महानगर र सार्क राष्ट्र राजधानी महानगरका प्रमुखहरुलाई इन्द्रजात्राका अवसरमा २४ भदौमा आमन्त्रण गरिएको छ ।
काठमाडौं महानगरभित्रका बस स्टपमा परम्परागत शैलीको फल्चा निर्माण गर्ने, एकीकृत एम्बुलेन्स सेवा सञ्चालनको व्यवस्था मिलाउने लगायत कार्यक्रम पनि उनका चुनावी वाचा हुन् ।
बजेटमा घोषणा भएअनुसार महानगरपालिकाका सबै कार्यालयमा सीसीटिभी राख्ने काम सुरु भएको सूचना अधिकारी वसन्त आचार्यले बताए ।
मेयर बलेन शाहले आफ्नो फेस्बूक मार्फत आफ्नो १०० दिनको कार्यकालमा पूरा भएको कामका बारेमा लेखेका छन् ।