काठमाडौं। अमेरीकाका राष्ट्रपति डाेनाल्ड ट्रम्पले १२ देशका नागरिकलाई अमेरिका यात्रा गर्न प्रतिबन्ध लगाएका छन् । ती देशमा अफगानिस्तान, म्यानमार, चाड, कंगो गणतन्त्र, इक्वेटोरियल गिनी, एरिट्रिया, हैटी, इरान, लिबिया, सोमालिया, सुडान र यमन छन् ।
उनले अरू सात देशका नागरिकलाई आंशिक यात्रा प्रतिबन्ध लगाएका छन् । ती देशमा बुरुन्डी, क्युबा, लाओस, सिएरा लियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएला छन् ।
यो प्रतिबन्ध स्थानीय समयानुसार आउँदो सोमबार दिउँसो १२ः०१ बजेदेखि लागु हुनेछ । यसरी अग्रिम सूचना दिइएकाले आठ वर्षअघिको जस्तो विमानस्थलमा हुने अराजकता टारिएको छ ।
ह्वाइट हाउसले यसलाई सामान्य प्रतिबन्ध भनेको छ । र, यसले अमेरिकी नागरिकलाई खतरनाक विदेशी तत्त्वबाट जोगाउने जनाएको छ । ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा पोस्ट गरेको एक भिडियोमा कोलोराडोको बोल्डरमा आतंकवादी हमलाबाट देशमा गम्भीर खतरा उजागर भएको बताएका छन् ।




