भर्जिनिया । अमेरिकामा चार जना नेपाली मृत अवस्थामा फेला परेका छन् । भर्जिनियाको मानेसास पार्कस्थित एक घरमा दुई बालबालिका, एक महिला र एक पुरुष मृत अवस्थामा फेला परेका हुन्।
उनीहरू सबैको गोली लागेर मृत्यु भएको देखिएको र प्रहरीले यस घटनालाई हत्यापछि आत्महत्या भएको आशङ्कामा अनुसन्धान गरिरहेको छ। मानेसास पार्क प्रहरीका अनुसार जुन ५ को राति १०:४० बजे प्रहरी टोलीलाई लाने लेनको ९४०० ब्लकमा रहेको एक घरमा जाँचका लागि बोलाइएको थियो।
घरधनीले आफ्ना भाडामा बस्ने व्यक्तिहरूसँग सम्पर्क हुन नसकेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीहरू तलको अपार्टमेन्टमा प्रवेश गर्दा चार जनाको शव फेला परेको थियो । मृतकमा ३८ वर्षीय सन्तोष परियार, ३६ वर्षीया अञ्जु श्रेष्ठ, २ वर्षे बालक, र ८ वर्षीया बालिका रहेको प्रहरीले जानकारी दिएको छ ।
छिमेकीहरूले मृतकहरू करिब ६ महिना अघि सो बस्तीमा बसाइँ सरेका थिए। मानेसास पार्क उत्तर भर्जिनियामा रहेको एउटा सहर हो, जुन वासिङ्टन डीसीबाट करिब ३० माइल दक्षिण–पश्चिममा, प्रिन्स विलियम काउन्टीको बिचमा पर्छ।




