गैरआवासीय नेपाली संघको पुनर्संरचना गर्न अभियन्ताहरू तयार

बैंकक : गैरआवासीय नेपाली संघ (एनआरएनए)को पुनर्संरचना गर्न अभियन्ताहरू एक मत भएका छन्। आउँदो निर्वाचनमा पुनर्संरचना गरी एक ढिक्का भई एकल नेतृत्वमा जाने अभियन्ताहरूले अठोट गरेका हुन्। गैरआवासीय नेपाली संघ (एनआरएनए)को नवौं एसिया क्षेत्रीय सम्मेलनमा गैरआवासीयका अगुवाहरूले संघको पुनर्संरचना गर्न सबै लाग्ने बताएका हुन्।
संघका पूर्वअध्यक्ष भवन भट्टले संघमा राजनीतिक हस्तक्षेप भएको भन्दै अन्तर्राष्ट्रिय सम्मेलन नेपाल बाहिर गर्नुपर्ने बताए। एनसीसीमा ठूलो समस्या रहेको भन्दै समस्या समाधान गर्न सबैको सहकार्य आवश्यक भएको बताए। कम्प्युटर मतदान अथवा फ्रि भोटिङको सिस्टम ल्याउन आवश्यक भएको उनले बताए। ‘एक देश एक भोटको अवधारणाबाट पनि जान सकिन्छ’, भट्टले भने, ‘अब संघको पुनर्संरचनाका लागि ढिला गर्नु हुन्न।’

नेपालको समृद्धिका लागि गैरआवासीय नेपाली संगठित भएको भन्दै राजनीतिक दलसँग सहकार्य गर्नुपर्ने भए पनि हस्तक्षेप निम्त्याउने गरी लाग्न नहुने उनले बताए। दुईवर्षे कार्यकाललाई तीन वर्षको कार्यकाल बनाउन पूर्वअध्यक्ष भट्ट सुझाव दिन्छन्।

कार्यकारी अध्यक्ष कुल आचार्यले पदको लोभमा नभई संस्थालाई हितमा राखी विधान बनाउनुपर्ने बताए। अहम्वाद सबैमा हुने भन्दै आचार्यले त्यसलाई हटाएर संस्थालाई पहिलो प्राथमिकता दिँदा समस्या नहुने बताए।

‘समयमै चुनाव गर्न सके एनआरएनएमा पुनर्संरचना ल्याउन सहज हुन्छ’ आचार्य भन्छन्, ‘विधान तथा नियमावली कसैको हितमा हुनेगरी बनाउँदा समस्या आएको हो।’

अध्यक्ष रविना थापाले सदस्यता र निर्वाचनमा समस्या रहेको बताइन। एनसीसी र आईसीसीको निर्वाचन एकैपटक गर्न सके सहज हुने बताइन। ‘अहिले निर्वाचन प्रणाली पारदर्शी छैन, एनसीसीका अध्यक्षकै कारण एनसीसी बिग्रिएको हो’, थापा भन्छिन्, ‘निर्वाचन खर्चमा पनि पारदर्शिता छैन।’
एनआरएनए अध्यक्ष डा. बद्री केसीले अर्कोपटक एकजना मात्र अध्यक्ष हुनेगरी विधान संशोधन गरिने बताए। उनले ११ अक्टुबर २०२३ मा निर्वाचन गरी नयाँ नेतृत्व हस्तान्तरण गरिने बताए।

‘यसपालि सबैले स्वीकारेको विधानबाटै प्रतिनिधि छानिएको थियो,’ केसी भन्छन्, ‘तर केही साथीहरूले चुनाव नगरी परराष्ट्रबाट निर्वाचन रोक्न लाग्नुभयो।’ अध्यक्ष डा. केसीले एनआरएनएको असन्तुष्ट पक्षलाई मूलधारमै ल्याउन पहल भइरहेको बताए। असन्तुष्ट पक्षलाई समेट्न उपाध्यक्ष डीबी क्षेत्रीको संयोजकत्वमा कार्यदल बनाइएको उनले बताए। एनआरएनएका उपाध्यक्ष आरके शर्माले एनआएरनएमा नेतृत्व तथा भिजनमा समस्या रहेको बताए। उनले एनसीसी अध्यक्षलाई बलियो बनाएर जान सके एनआरएनए अभियान बलियो हुने विश्वास व्यक्त गरे।

गैरआवासीय नेपाली संघ (एनआरएनए) कतारका अध्यक्ष मोहम्मद मुक्तादाले राष्ट्रिय समन्वय परिषद् (एनसीसी) मा नबसी माथि जान खोज्ने प्रवृत्तिले संघमा चुनौती थपिएको बताए। यसैकारण संघमा अहिलेसम्म मिलाप हुन नसकेको उनको भनाइ छ।

मताधिकारको माग

गैरआवासीय नेपाली संघ एसिया प्रशान्त नवौं क्षेत्रीय सम्मेलनले आसन्न निर्वाचनमा एनआरएनलाई मताधिकारको व्यवस्था गर्न माग गरेको छ। आइतबार सम्पन्न सम्मेलनले १३ बुँदे बैंकक घोषणापत्र जारी गर्दै चुनावमा मत हाल्नेदेखि एनआरएनलाई नागरिकताको सुनिश्चितता गर्न सरकारसँग माग गरेको छ।