बालेन नक्सा लिएर पुगेपछी

काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वरस्थित अल्फाबिटाको अनधिकृत संरचना भत्काएको छ।

अल्फाबिटाका सञ्चालकले‍ दाबी गरेजस्तो ती संरचना नक्सा पास गरेर बनाएको नपाइएपछि महानगरले भत्काउँदै छ।

बिहीबार मेयर बालेन शाहले दोस्रो पटक दिउँसो नक्सा बोकेरै उक्त संरचना भत्काउन डोजर लिएर पुगेका थिए। बालेन, नगर प्रहरी, नेपाल प्रहरी लगायतका टोली घटनास्थल पुगेका थिए।

बिहीबार अनुमतिबिना बनाइएका अवैध संरचना निरीक्षण गर्ने क्रममा मेयर शाह नयाँ बानेश्वरस्थित अल्फाबिटा पुगेका थिए।

अल्फाबिटाले पार्किङको लागि छुट्याएको ठाउँमा व्यापारिक प्रायोजनको संरचना बनाएको पाइएपछि मेयर शाहले त्यो हटाउन भनेका थिए। त्यस क्रममा शाहले अल्फा बेटा ग्रुपका सञ्चालक द्विराज शर्मालाई भवन निर्माणको नक्सा मागेका थिए तर शर्माले नक्सा आफूसँग नभएको बताए। त्यसक्रममा मेयर शाह र सञ्चालक शर्माबी चर्काचर्की परेको थियो।

मेयर शाहले प्रमुख शर्मासँग झोक्किँदै भनेका थिए, ‘तपाईंको घरको नक्सा मसँग हुनुपर्छ र?’

शाह आवेगमा आएर बोलेपछि प्रमुख शर्माले उनले डनको व्यवहार गरेको बताएका थिए। त्यसपछि बालेन बिहीबारै नक्सा लिएर दोस्रोपटक अल्फाबिटा पुगेका हुन्।

बुधबार महानगरले काठमाडौं मल, आरबि कम्प्लेक्स, बिरा कम्प्लेक्स अगाडि बनाइएका संरचनाहरू भत्काइएका थिए। त्यस्तै अरू विभिन्न ठाउँमा पनि अवैध संरचना भत्काउन निर्देशन दिएका छन्।