पैचोका उत्पादनहरु अब अमेरिकामा

काठमाडौं । ‘बसे पनि सहर, गाउँकै खाने रहर’ भन्ने मूल मन्त्रका साथ पहाडी र उच्चपहाडी ग्रामीण क्षेत्रको कृषिजन्य उत्पादनलाई प्रशोधन गरी बिक्रि वितरण गर्दै आएको पैचो पसल प्रालीद्वारा उत्पादित ‘पैचो उत्पादन’हरु अब संयुक्त राज्य अमेरिकाका विभिन्न राज्यमा उपलब्ध हुने भएको छ ।

पैचोले आफनो उत्पादनलाई विश्वभर छरिएर बसेका नेपाली डायस्पोरामाझ पुर्याउने उद्देश्यले अमेरिकामा निर्यात सुरुवात गरेको हो । पैचोका उत्पादन अमेरिका पुर्‍याउन न्यूयोर्कमा कार्यालय रहेको फेन्सी हाउस इन्क (Fancy House Ink) ले एक्सपोर्ट फर्म नेपाल (Export From Nepal) र अग्नि एक्जिम प्राली (Agri Exim Pvt Ltd) मार्फत सहकार्य गरेको छ ।

अमेरिकामा सामान पुर्याउनका लागि फेन्सी हाउस इन्कसँग आज पैचोले सहकार्यको सम्झौता गरेको छ । काठमाडौंको इन्द्रेणी स्वीट होटलमा आयोजित कार्यक्रममा पैचोको तर्फबाट बजार व्यवस्थाप लक्ष्मण गैरे र फेन्सी हाउस इन्कका निर्देशक अनिल रौनियारले हस्ताक्षर गरेका छन् । त्यसक्रममा एक्सपोर्ट फर्म नेपालका निर्देशक राज सर्राफ र अग्नि एक्जिमको तर्फबाट निकेश भट्टराईको पनि उपस्थित रहेको थियो ।पैँचो पसल प्रालीका उत्पादनप्रति नेपालभरका उपभोक्ताको विश्वास बढ्दै गएको अवस्थामा विदेशमा बसोबास गर्ने नेपाली समुदायमा समेत पुगेको छन् । पैचोका उत्पादन यसअघि पनि जापान, अस्ट्रेलिया र यूरोपका विभिन्न देशमा पुगिसकेका छन् ।

लामो समय विदेशमा बसेपनि नेपाली स्वादप्रति भोको हुने आम उपभोक्ताको मनोविज्ञान र मागलाई मध्यनजर गर्दै विशुद्ध पहाडी र उच्चपहाडी भूभागका कृषकले उत्पादन गरेको कृषिजन्य पदार्थलाई प्रशोधन गरी निर्यात गर्न पाउँदा पैचो पसल प्राली आफुलाई गौरावान्वित महशुस भएको जनाएको छ । अर्गानिक र इन्ट्रिग्रेटेड पेस्ट म्यानेजमेन्ट पद्धती (IPM) बाट उत्पादित ग्रामीण खाद्यवस्तुको रैथाने स्वादलाई विदेशमा लैजान सुरु गरिएको पैचो पसल प्रालीका बजार ब्यवस्थापक लक्ष्मण गैरेले जानकारी दिए ।