युरोप । गैरआवासीय नेपाली संघ (एनआरएनए) युरोपले विज्ञ सम्मेलनको आयोजना गर्ने भएको छ । संघका युरोप संयोजक सन्तोष भट्टराईका अनुसार संघले आगामी ११औं क्षेत्रीय बैठकसँगै युरोप क्षेत्रमा कार्यरत विभिन्न नेपाली विज्ञहरुको भेला गर्ने तयारी गरेको हो ।
सम्मेलनलाई सफल पार्न शनिबार सम्पन्न एनआरएनए युरोप क्षेत्रीय पदाधिकारीहरूको बैठकले एक कार्यदलसमेत गठन गरेको छ । कार्यदलमा राजु अर्याल (नर्वे), नवराज रोशियारा (जर्मनी) र डा. चिरन्जीवी खड्का (चेक रिपब्लिका) रहेका छन् ।
बैठकले एनआरएनए यूकेको विवाद अन्त्य गर्न संघका अध्यक्ष कुल आचार्यको संयोजकत्वमा गठित समितिलाई पूर्णरुपमा सहयोग गर्ने र छिटोभन्दा छिटो समस्याको समाधान खोज्न आग्रह गर्ने निर्णय गरेको छ । तीन दर्जन राष्ट्रिय समितिका प्रतिनिधिहरू तथा अध्यक्षहरूको उपस्थिति रहेको बैठकमा करिब ५० जनाको सहभागिता थियो ।
बैठकमा गैरआवासीय नेपाली संघका अध्यक्ष डा। बद्री केसी, उपाध्यक्ष डा.हेमराज शर्मा, महासचिवद्वय गौरीराज जोशी र डा. केशव पौडेल, उपमहासचिव रामशरण सिंखडा, सचिव गंगाधार गौतम, कोषाध्यक्ष फडिन्द्र पन्त, प्रवक्ता शिव बरुवाललगायतको उपस्थिति थियो ।