स्थानीय तह निर्वाचनमा कुन दलले कति पालिका जिते?

गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय तह निर्वाचनको परिणाम आउने क्रम जारी छ । निर्वाचन आयोगका अनुसार हालसम्म १८९ स्थानीय तहको अन्तिम नजिता आईसकेको छ ।

सार्वजनिक नतिजा अनुसार हालसम्म सबैभन्दा बढी पालिकाको प्रमुख/अध्यक्ष नेपाली कांग्रेसले जितेको छ । कांग्रेसले अन्तिम नतिजा सार्वजनिक भएका १८९ स्थानीय तहमध्ये ८५ पालिकाको प्रमुख/अध्यक्ष जितेको छ ।

कांग्रेसलाई नेकपा एमालेले पछ्याइरहेको छ । एमालेले हालसम्म ५१ पालिकाको प्रमुख/अध्यक्ष जितेको छ । नेकपा (माओवादी केन्द्र)ले ४३ पालिकाको प्रमुखरअध्यक्ष जितेको आयोगले जानकारी दिएको छ ।

हालसम्म नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार ४ र अन्यले ४ पालिका प्रमुख/अध्यक्षमा विजयी बनेका छन् ।

हालसम्म भएको मतगणना अनुसार नेपाली काँग्रेस १९० पालिका प्रमुख/अध्यक्ष मा अगाडी छ भने एमाले ११९ पालिकामा अगाडी रहेको छ ।

त्यस्तै माओवादी केन्द्र ६५ पालिकामा अगाडी छ भने एकीकृत समाजवादी ३, स्वतन्त्र ५ र अन्य ६० पालिकामा अगाडी रहेका छन् ।

यस्तै, हालसम्म अन्तिम नजिजा आएका ८९ पालिकाको उपप्रमुख/उपाध्यक्ष कांग्रेसले जितेको छ ।

त्यस्तै एमालेले ५० पालिकाको उपप्रमुख/उपाध्यक्ष जितेको छ भने माओवादी केन्द्रले ३८ उपप्रमुख/उपाध्यक्ष जितेको छ । त्यसैगरी, एकीकृत समाजवादीले ७ र अन्यले ६ उपप्रमुख/उपाध्यक्ष जितेका छन् ।