अनाधिकृत रुपमा नाम र लोगोको दुरुपयोग नगर्न एनआरएनएको आग्रह(विज्ञप्तिसहित)

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आधिकारिक नाम र लोगो अनाधिकृत रुपमा प्रयोग भएको सम्बन्धमा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदले ध्यानाकर्षण गराएको छ ।

‘संघको आधिकारिक निकाय वाहेक अन्य जो कोहीले पनि संघको लोगो र लेटर हेड प्रयोग सम्वन्धी कार्यविधी विपरित गैरआवासीय नेपाली संघको नाम र लोगो दुरुपयोग गरी प्रेषित गरिएका पत्रहरु प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा छ ।

विज्ञप्तिमा अनाधिकृत रुपमा संघको नाम र लोगोको दुरुपयोग गरी पठाइने कुनै पनि पत्र गैरआवासीय नेपाली संघको आधिकारिक पत्र नभएकोले यस सम्वन्धी कुनै पनि भ्रममा नपर्नका लागि सम्पूर्ण एनसिसिलगायत सम्वन्धित सबैमा अनुरोध गरिएको छ । संघको लोगो र लेटरहेड प्रयोग गरि संघको नाममा गरिने अवाञ्छित गतिविधीहरुले नेपाली समाजमा भ्रम सृजना भैरहने र संघको नियमित कार्यक्रमहरुमा वाधा अड्चन पर्दै जाने परिस्थिति सृजना भएको खण्डमा संघ कानूनी कारवाहीमा जान वाध्य हुने पनि विज्ञप्तिमा छ ।

संघका प्रवक्ता सोम सापकोटा र शिवकुमार बरुवालले बुधबार एक प्रेस वक्तव्य प्रकाशित गरी ध्यानाकर्षण गराएका हुन् ।