अमेरिकाको न्युयोर्क निवासी पासाङ शेर्पाबाट लिखित संस्मरणात्मक पुस्तक ‘कोरोना कथा’ न्युयोर्कमा पनि लोकार्पण गरिएको छ ।
न्युयोर्कस्थित क्वीन्सको धर्मा हाउसमा आयोजित कार्यक्रममा पुस्तकको लोकार्पण गरिएको हो । संयुक्त राष्ट्र संघका लागि नेपाली स्थायी प्रतिनिधि अमृत राई, नेपाली महावाणिज्यदूतावास न्युयोर्कका कार्यबाहक महावाणिज्यदूत बिष्णु प्रसाद गौतम, धर्म गुरु लोपेन गुर्मे छोड्रक लगायतको उपस्थीतिमा पुस्तक लोकार्पण गरिएको हो ।
कार्यक्रममा नेपाली संघ संस्थाका प्रतिनिधिहरुको पनि उपस्थीति रहेको थियो । युनाइटेड शेर्पा एसोसिएसन अमेरिका र खुम्बु पासाङ ल्हामु शेर्पा समाज अमेरिकाले कार्यक्रमको आयोजना गरेको हो । पासाङ–डोल्मा फाउन्डेशनले प्रकाशनमा ल्याएको उक्त पुस्तकको मूल्य नेपाली रु ५०० र अमेरिकी डलर २५ रहेको छ । ५६६ पृष्ठ रहेको पुस्तकमा कोरोनाअघिको संसार, लकडाउनमा घर थन्किँदा, राहतको सेरोफेरो, लकडाउनपछिको जीवन लगायतका विषय समेटिएको छ ।
पुस्तक लेख्नुअघि शेर्पा बाट रचित ‘सयौं डाँडा काट्दै आएँ’ लगायतका गीतहरु बजारमा आइसकेका छन् । उनीबाट रचित ६ वटा गीतहरु रिलिज भइसकेका छन् । सन् २००४ मा अमेरिका पुगेका उनले सन् २०१२ मा उनले न्युयोर्कको ज्याक्सन हाइटमा पासाङ स्ट्राइकिङ स्टाइल खोले । अहिले उनी न्युयोर्कका चर्चित नेपाली हेयर स्टाइलिस्ट हुन् । उनको पासाङ स्ट्राइकिङ अहिले ब्राण्डको रुपमा स्थापित भएको छ ।
शेर्पाले आफ्नो पुस्तक बुबा फुरी गेल्जे शेर्पाप्रति समर्पित गरेका छन् ।