स्थानीय तह निर्वाचन: चारैतिर झडपका घटना, सुरक्षाकर्मीलाई चुनौती

स्थानीय तह निर्वाचन भोली देशैभर हुँदै छ । निर्वाचन नजिकिएसँगै कतै पार्टीका कार्यकर्ताबिच झडप त कतै उम्मेदवारजमाथीको हमलाका घटना भइरहेका छन् ।

निर्वाचन सम्पन्न गर्ने र आफु वा आफ्नालाई जिताउने दौडमा सबै सामिल भएको देख्न सकिन्छ । यहि दौडकाबिच कार्यकर्ता र उम्मेदवारले मानवता बिर्सिएका छन् ।

सोमबार धनुषामा आफ्नो पार्टीका उम्मेदवारहरुमाथि आक्रमण गरिएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आपत्ति जनाएको थियो । प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले विज्ञप्ति जारी गर्दै धनुषा जिल्लाको सबैला नगरपालिका वडा नं ४ का राप्रपाका वडा सदस्यका उम्मेदवार समशुल राइन मियामाथि नेकपा एमालेबाट सांघातिक हमला भएको भन्दै निन्दा गरेका थिए । मियामाथि एमालेले उम्मेदवारी फिर्ता लिन दबाब दिएको र मियाले पार्टीको पक्षमा दृढतापूर्वक प्रचार गर्ने अडान लिएपछि उनीसहित परिवारका ७ जना सदस्यमाथि सांघातिक हमला भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै रुकुमपश्चिमको चौरजहारी नगरपालिका वडानम्बर १० मा बुधबार राति माओवादी केन्द्रका उम्मेदवार कुटिएका थिए । कांग्रेसका कार्यक्रताले माओवादीका वडा सदस्यका उम्मेदवारसहित पाँच जनामाथि कुटपिट गरेका थिए । मााओवादी केन्द्रको तर्फबाट वडा सदस्यका उम्मेदवार तुल्सीराम बुढासहित जुद्धबहादुर घर्ती, कमल केसी, हरिबहादुर रोकाय र सौगात रोकायलाई कुटपिट गरेका हुन् ।

आइतबार गुल्मीमा नेकपा माओवादी केन्द्रका एक नेता नेपाली कांग्रेसका कार्यकर्ताबाट कुटिएका थिए । जिल्लाको कालीगण्डकी गाउँपालिकाको केन्द्र पुर्तिघाटमा नेपाली कांग्रेसका कार्यकर्ताले नेकपा माओवादी केन्द्रका गाउँपालिका समितिका अध्यक्ष लीलबहादुर केसीलाई कुटपिट गरी घाइते बनाएका हुन् ।

कैलालीमा सत्तारूढ गठबन्धनका कार्यकर्ताले एमालेका कार्यकर्तामाथि आक्रमण गरेका छन् । गठबन्धनका पार्टीका कार्यकर्ताको आक्रमणबाट एमालेका चार जना कार्यकर्ता घाइते भएका छन् । गोदावरी नगरपालिका ६ का एमालेको वडाध्यक्षका उम्मेदवार जग्गु चौधरीका भाइ बिन्तिराम चौधरीसहितका चार जना एमाले कार्यकर्ता घाइते भएको प्रहरीले जनाएको छ ।

बुधबार स्थानीय तह निर्वाचनलाई लक्षित गरी गण्डकी गाउँपालिकामा बोलाइएको सर्वदलीय बैठकमा मनोज गुरुङ खुकुरी सहित पुगेका थिए । नेपाली कांग्रेसको प्रतिनिधित्व गर्दै उनी बुधवार बिहान बैठकमा सहभागी हुन गएका थिए । उनले बोकेको झोलामा खुकुरी भेटेपछि उनलाई नियन्त्रणमा लिइएको थियो ।

स्थानीय तह निर्वाचन भयरहित वातावरणमा सम्पन्न गराउन सुरक्षाकर्मी खटाइएको छ । भोली पनि देशका विभिन्न स्थानमा झडप हुनसक्ने आशंका छ । निर्वाचनका लागि तीन लाखको हाराहारीमा सुरक्षाकर्मी खटिने गृह मन्त्रालयकाले बताएको छ । गृह मन्त्रालयका सूचना अधिकारी वसन्त भट्टराईका अनुसार ६१ हजार नेपाल प्रहरी, २३ हजारको हाराहारीमा सशस्त्र प्रहरी र एक लाख म्यादी प्रहरी छन्, आवश्यकता हेरेर ४० ५० हजार नेपाली सेना खटिनेछन् ।

मतदानको ३० दिन अगाडिबाट शुरू भएको सुरक्षाकर्मीको परिचालन विजय जुसुल नसकिँदासम्म निरन्तर रहनेछ।