निर्वाचन आचारसंहितविपरीत तिलोत्तमा नगरपालिकामा नेपाली कांग्रेसका नगर प्रमुख पदका उम्मेदवार रामकृष्ण खाँणले सार्वजनिक स्थानमा प्रचार सामग्री राखेको पाइएको छ । निर्वाचन आचारसंहिताअनुसार सार्वजनिक ठाउँमा उम्मेदवारको प्रचार सामग्री राख्न पाइँदैन ।
उम्मेदवार खाँणको प्रचार सामग्री योगीकुटी सडक किनारमा राखेको पाइएको हो । निर्वाचन आयोगले यही १९ वैशाखमा सबै जिल्ला प्रशासन कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन अधिकृतको कार्यालय, प्रदेश निर्वाचन कार्यालय, जिल्ला निर्वाचन कार्यालयलाई पत्र लेख्दै सार्वजनिक स्थानमा पार्टीका झण्डा, दल वा उम्मेदवारको निर्वाचन चिन्ह राख्न नहुने आचारसंहिताको पालना गराउन निर्देश गरेको थियो ।
आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयनका सन्दर्भमा पठाएको पत्रमा प्रचारात्मक सामग्री प्रयोग गरेको पाइएमा तत्काल हटाउने वा हटाउन लगाउने उल्लेख छ ।