अफगानिस्तानमा महिलालाई ड्राइभिङ लाइसेन्स जारी गर्न प्रतिबन्ध

अफगानिस्तानमा तालिबान सरकारले राजधानी काबुल र अन्य प्रान्तहरूमा महिलाहरूलाई ड्राइभिङ लाइसेन्स जारी गर्न बन्द गरेको छ ।

देश खाद्यान्न संकट र अन्य अत्यावश्यक आपूर्तिको अभावका कारण डरलाग्दो मानवीय संकटबाट गुज्रिरहेका बेला तालिबानले महिलामाथि यस्तो प्रतिबन्ध लगाएको हो ।

गत १५ अगस्टमा अफगान सरकार ढलेपछि अफगानिस्तानमा मानव अधिकारको अवस्था दयनीय बनेको छ । देशमा द्वन्द्वको अन्त्य भए पनि मानवअधिकार उल्लंघनका घटनामा तीब्र बृद्धि भएका छन् । विशेषतः महिलाका हक अधिकारमा अंकुश लागेको छ ।

एउटा पछिल्लो घोषणामा तालिवान शासनले ६ कक्षाभन्दा माथिका छात्रालाई विद्यालयमा जान प्रतिबन्ध लगाएको थियो ।

तालिबान नेताहरूले भने शिक्षकहरूको अभावका कारण आफूहरुले यस्तो निणर्य लिनु परेको र छिट्टै छात्राहरूको अधिकार पुनर्स्थापित हुने बताउँदै आएका छन् ।