गृहमन्त्री बालकृष्ण खाण र तिलोत्तमा नगरपालिका कांग्रेसका तर्फबाट मेयरका उम्मेदवार रामकृष्ण खाणविरुद्ध निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा उजुरी परेको छ ।
तिलोत्तमा नगरपालिका २ का दिपेश कडेँलले गृहमन्त्री र उम्मेदवार खाणविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा बिहीबार उजुरी दर्ता गराएका हुन् । गृहमन्त्री खाणले निर्वाचन आचारसंहिता विपरित रुपन्देहीको तिलोत्तमामा विभिन्न चुनावी अभियानमा सहभागी भएको उजुरीमा उल्लेख छ ।
गृहमन्त्रीको हैसियतमा सरकारी गाडी प्रयोग गरी खाण तिलोत्तमा नगरपालिका ८ मा कांग्रेसको घरदैलो कार्यक्रममा सहभागी भएका थिए । बुधबार तिलोत्तमा नगरपालिका वडा नम्बर ८ मा उनी घरदैलो कार्यक्रममा सहभागी भएका हुन् ।
उम्मेदवार वा कुनै राजनीतिक दलको चुनाव प्रचारमा संघ वा प्रदेश सरकारका मन्त्री वा स्थानीय सरकारका जनप्रतिनिधि सहभागी हुन आचारसंहिताले रोक लगाएको छ । आचारसंहिता विपरित गृहमन्त्री काँग्रेसको चुनावी कार्यक्रममा सहभागी भएका थिए ।
यस्तै, उम्मेदवार खाणले निर्वाचन आचारसंहित विपरीत सार्वजनिक स्थानमा प्रचार सामग्री राखेको भन्दै उजुरी परेको हो । आचारसंहिताविपरित उम्मेदवार खाणको प्रचार सामग्री योगीकुटी सडक किनारमा राखिएको थियो ।
तिलोत्तमाका निर्वाचन अधिकृतले गृहमन्त्री र उम्मेदवार खाणविरुद्ध उजुरी परेकाले स्पष्टिकरण सोध्ने तथा निर्वाचन आयोगलाई पनि जानकारी गराउने बताए ।