स्थापतिले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै आयोगले माग्यो स्पष्टीकरण

निर्वाचन आयोग नेपालले काठमाडौं महानगरमा नेकपा एमालेबाट मेयरका उम्मेदवार केशव स्थापितले आचारसंहिता उल्लंघन गरेको भन्दै स्पष्टीकरण सोधेको छ ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले स्थापितले आफ्ना प्रतिस्पर्धीविरुद्ध गलत अभिव्यक्ति दिएको भन्दै २४ घण्टे स्पष्टीकरण सोधेको जानकारी दिए ।

‘नेपाल कम्युनिष्ट पार्टी एकीकृत माक्सवाद, लेनिवादको तर्फबाट काठमाडौ महानगरपालिकाको प्रमुख पदको उम्मेदवार केशव स्थापितले सोही महानगरमा प्रतिष्पर्धी उम्मेदवार रहनुभएको बालेन साहको विषयमा दिनुभएको अभिव्यक्ति निर्वाचन आचारसंहिता २०७८ अनुकुल नभएकोले सो विषयमा आधार कारणसहित २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न आयोगले निर्देशन दिएको छ ।’ उनले भने ।

यसअघि पनि स्थापितले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै स्पष्टीकरण सोधेको थियो ।

काठमाडौं महानगरमा एमालेबाट मेयर बनेका स्थापितले केही दिन अघि महानगरमा स्वतन्त्र उम्मेदवार बनेका बालेन साहलाई तराईको भएको र काठमाडौंका जनतालाई भुलाएको भन्दै अन्तर्राष्ट्रिय ठगको संज्ञा दिएका थिए ।