म्याक्रोन लगातार दोस्रो पटक फ्रान्सको राष्ट्रपतिमा निर्वाचित

इमानुएल म्याक्रोन लगातार दोस्रो पटक फ्रान्सको राष्ट्रपतिमा निर्वाचित भएका छन् । राष्ट्रपति चुनावको दोस्रो चरणको निर्वाचनमा म्याक्रोनले अति दक्षिणपन्थी उम्मेदवार मारिन ले पेनलाई पराजित गरेका हुन् ।

आइतवार सम्पन्न मतदानपछिको प्रारम्भिक अनुमानमा म्याक्रोनले ५८.८ प्रतिशत मत प्राप्त गरेका छन् भने उनकी प्रतिद्वन्द्वी मारिन ले पेनले ४१.२ प्रतिशत मात्रै मत प्राप्त गरेको फ्रेन्च मिडियाहरुले उल्लेख गरेका छन् ।

म्याक्रोन दुई दशकमा दोस्रो पटक चुनाव जित्ने पहिलो फ्रान्सेली राष्ट्रपति हुन् । तर, दोस्रो पटक यो पद सम्हाल्ने उनी देशको तेस्रो राष्ट्रपति हुनेछन् । उनीअघि फ्रान्सका दुई राष्ट्रपतिले मात्रै लगातार दोस्रो कार्यकाल जित्न सफल भएका थिए ।

म्याक्रोनले राष्ट्रपतिको रूपमा दोस्रो कार्यकाल जितिसकेपछि समर्थकहरूलाई सम्बोधन गरेका छन् । उनले आफ्ना समर्थकहरुलाई धन्यवाद दिदै भने,”तपाईंहरू सबैले आगामी पाँच वर्षको लागि म माथि विश्वास गर्नुभएको छ । म तपाईहरुको ऋणी बनेको छु ।”

सन् २०१४ देखि २०१६ सम्म होल्यान्डको सरकारमा अर्थमन्त्री नियुक्त भएपछि उनी पर्दा पछाडिको भूमिकाबाट राजनीतिक दृश्यमा अगाडी आएका थिए ।